जित्नेहरू हो
बहकाउमा लागेर
फजुल खर्चमा
तामझाम नगर्नु है

हार्नेहरू हो
पुर्पुरो समाएर
सर्वस्व गुम्यो भनेर
राम राम नगर्नु है

चोरलाई चिनेरै पनि चोर्न पठाउने
लुटेरालाई खोजी खोजी अघि बढाउने
हत्यारालाई हतियार उपहार दिलाउने
तिनै दृश्यले आँखा बिझाउने
सर्वत्रले
देखेर
भोगेर
वाक्क भएर
मौनता भंग भएको हो
तसर्थ
भेडा नभन्नु है

गम्भीर दुवाडी

जित्ने र हार्नेका
दौराको फेरो समाउँदै
आफू अनुकूल
व्याख्या गर्दै
समय कटाउनेहरू हो
जित्नेहरू भगवान होइनन्
हार्नेहरू सैतान होइनन्
तिर्खाएका धर्तीका
मान चित्रमा
बाफ बनेर उडेका
नवीन सपनाहरू
धैर्यताको बाँध फुटेर
एकदिन
सर्लक्कै
सलल बगाउने छ
ख्याल गर्नु है

जानीजानी नर्क रोज्ने
राम छाडी
रावण रोज्ने
किन खोज्थ्यो त्यो स्वर्ग
विचार गर्नु है

तनका सुकिला
मनका मैला
नियत कुटिल
सम्बन्धका ड्याङमा
भौतिकवादी अवयबहरू
समृद्धि फुलाउन फलाउन
लाञ्छनाको शिविर चढ्दैछन्
होसियार हुनु है

सर्वोच्चको बकस
अपच भएर
सकस मान्नेहरू हो
फेरि पनि
लाशको राजनीति गर्दै
कात्रोमा गोजी
नखोज्नु है

गजुरी – धादिङ्ग