ए काल भनिदेऊ न
म जवानी कि बूढो ?
न जवानी देख्यौ न बूढो
देख्यौ त तिमीले मेरो निन्द्रा
तिम्रो पनि त उमेर होलान्
लुकामारी खेल्ने साथी त भन्दिन
बैँस पोख्ने रहर त होलान् ?
आफ्नै उमेर बिर्सिएर
केश फुलेर बूढो भइयो ।

चाउरेको गाला अनि फुटेको
कुर्कुचा हेरेर रित्तियो जवानी
ए काल !
तिमीले लिन आएको बेला
जीवन जलेको पत्तै भएन ।

१६ वर्षे जवानीमा मै पनि झिल्के
सफा छाला र गोरो अनुहारमा
जीवनका रङ्गहरू वसन्ती सँग साटेछु
ऋणको भारी बोकेर खाडी छिरेको
खाडीले जवानी लुटेको पत्तै भएन
जवानी सँगै कपाल फुलेछ
उता स्वास्नीको पेट फुलेछ
कठै बरी ! मेरो खप्पर
बूढो घामलाई हेर्दै बितेछ।
ए काल भनिदेऊ
म जवानी कि बूढो ।

व्यर्थ घमण्ड के को लागि
दैलोमा आएर लैजाऊ भन्छु
मर्दा मलामी र पुर्दा माटो
मसानघाट न हो जीवन
उमेर ढलेको पत्तै भएन
बाँचेर एक छिन हाँसु भन्छु
पोखी हाल्छ बैँस फेरि
ऐना हेर्दै बाँचेको बेला
छाया सँगै हाँसेको बेला
शंखको धुन रहेछ जीवन
उमेर ढलेको पत्तै भएन
बूढो हुँदैछ जवानी छर्दै
फूल होइन रहेछ जीवन
ए काल भनिदेऊ न
म जवानी कि बूढो ।

रमेश दियाली

तिम्रा खुसीहरू टाल्दा टाल्दै
पैताला फुटेका पत्तै भएन
निधारको रेखामा भाग्या खोज्ने म
ज्योतिषीले मेरो आयुको रेखा खोज्दै गर्दा
बल्ल थाहा पाए हातका चक्रहरू मेटिएछन्
ज्योतिषी टोलाइरहे सिमलको रूखमा
म पनि बूढो सिमलको रूख जस्तै
ठिङ्ग उभिएको छु
हाँगाहरू भाँचिएका छन्
पातहरू झरेर खरङ्ग परेका छन्
बस यति हो म पनि कुन बेला ढल्छु ।

मेरो बूढो लौरोले बिदाइ लियो
अनि मेरो सुन्दरता जलेर खाग भए
भोलिको उज्यालो हेर्ने आँखाहरू बन्द भए
मलाई समयले पर्खिरहेको छ
घरका भित्तामा माकुराका जालाहरूले
बेरिएका तस्बिरहरू ताजै छन
ऊ हेर त भित्तामा त्यो फोटो ?
पोहोर साल मात्रा दाँत झरेको बेला
चौरासीको गीतमा रमाएको बेला
तिमी आयौ र भन्यौ
अब जानै पर्छ
ए काल भनिदेऊ न ?
म जवानी कि बूढो ?