गिर्खै गिर्खा बोकेर छातीमा
लाग्छ कालजयी उभिएको छ
न स्वासलाइ स्वीकार्छ
न कसैको आशलाई
चौडा छाती कस्तो रुग्णस्वरुप
सबैले देख्दा
सबैले बुझ्ने भाषामा
त्यो निर्जीव पत्थर ।
सयौँ वर्षको अन्तरालमा
झ्याउका झुप्पाहरू पलाएर
कार्पेटझैँ लाग्ने समुदाय वनस्पतिको
बोक्न सक्ने
अमिलो अम्लरस त्यो झ्याउको
पसेर छिद्रहरूबाट भित्र
ठूला चिराहरू पार्ने
त्यो निर्जीव पत्थर ।
इकोलोजिष्टहरूले भन्छन्
कालान्तरमा त्यहाँ झाडी बन्छ
बिस्तारै त्यहाँ जंगल बन्छ
मेसोफाइटिक फोरेष्ट
क्लाइमेक्स कम्युनिटी
कति राम्रो सम्बन्ध स्थापित हुन्छ
पर्यावरणसँग त्यो कम्युनिटीको
तर झट्ट हेर्दा
त्यो निर्जीव पत्थर।
यत्रो जीवित समुदाय
निर्माण गर्न सक्छ
छातीमा उसको
परेड खेल्छन् बाँदरहरू
सुसाउँछन खहरेहरू
लाटोकोसेरो गीत गाँउछ
फ्याउरोले भाखा फेर्छ
त्यो अनन्त समयान्तरमा
फेरि परिचय खोजिरहन्छ
त्यो निर्जीव पत्थर ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।