शान्तिदीप रायमाझी

न्यूल्याण्ड भन्ने देशको कुरा
जहाँ ऊ

उसको हिजोको समयलाई
उसले चालेको कदमलाई
पुरातन ठानियो
सामन्ती
निरंकुश मानियो
र आज फोरियो
सहर चोकमा ठिङ्ग उभिएको
उसको सालिक ।

नयाँ विचार बोकेका
नयाँ सिद्धान्त
नीति सार घोकेका
एक हुल आए
नयाँ गीत गाए
भत्काए
सहर चोकको त्यो सालिक ।

सालिक हिजो मालिक हुँदा
दुःख दिएको देखाइयो
दमन गरेको दर्शाइयो
अनि
उसलाई
सहि इतिहास ठानिएन
संरक्षित गर्नुपर्छ पनि भनिएन
विगत सोचिएन
सन्ततिले पछि देख्लान् नि भनिएन
भविष्यले लेखाजोखा गर्ला नि भनिएन
त्यतिकै रहन दिइएन
बरु
वर्तमानको लागि घातक मानियो
सारा अविकासको द्योतक ठानियो
अग्रगमनको बाधक मानियो
कुशासनको साधक जानियो

हानियो घनले एकाबिहानै सहर चोकको त्यो सालिक ।

सालिकले कुनै पुकार गरेन्
प्रतिकार गरेन्
चित्कार गरेन्
मात्र
उसले
त्यो हुलको
रिस आवेग
आक्रोश सह्यो
र छिनभरमै
उसको
टाउको फुटाइयो
नाक उडाइयो
हात भाँचियो
खुट्टा तोडियो
हान्दै गइयो
ठोक्दै गइयो

सालिक त्यो
सिमेन्ट, सिङ्गमरमर, टुक्रे इँटा र बालुवा बन्यो
कति धुलो हावामा उड्दै रह्यो

बल्ल ठानियो
सामन्ती अवशेष शेष भयो
मानियो अब
सोचेको नयाँ देश भयो ।

तर
सत्य के हो भने
शक्तिले पुनः अर्को मालिक जन्माउँछ
भोलि आजको मालिक
पुनः यिनै सिमेन्ट, इँटा बालुवाबाट सालिक बन्नेछ
ठडिनेछ
पुजिनेछ केही समय

समयको वेगसँगै
अहिलेको विचार पुरानो बन्नेछ
लाचार बन्नेछ
जीत जो हार बन्नेछ
वर्तमान नीति बेकार बन्नेछ
त्यो समय अहिले नयाँ ठानिएका पुरातन बन्नेछन्
अन्धविश्वासी, असहिष्णु, सामन्ती झन बन्नेछन्

उनीहरुको सालिकले शाख गुमाउने छ
अहंकार धाक गुमाउने छ
र फेरि नयाँ एक हुल जन्मनेछ

नयाँ गीत गाउँदै
फोर्दै गर्नेछन् उसको सालिक
शक्तिहीन भएको सालिक
भक्तविहीन भएको सालिक ।