दुष्यन्त रामुदामु

उडिरहन्छ रातको सत्तामा
स्वाभिमानको आफ्नै बत्ती बालेर
यी जुनकिरीहरू।

उज्यालो हुनु भनेको
जुनकिरीलाई
अँध्यारोको त्यो प्रहरलाई
कुरी बस्नु हो ।
जुनकिरीहरू दिनभरि
उज्यालोको छल लागेर
रणनीति तयार पार्छन्
रातको साम्राज्यमा
निस्पट्ट अँध्यारोको
शासनलाई चुनौती दिएर
कसरी एक्लै एक्लै उडेर
प्रकाश फैलाउनु ।

जाँन्दछन् सायद
ती जुनकिरीहरू मैदानमा ओर्लेर
कालो कानूनको अघि लड्न
मिलेर एकै आवाज उठाउन ।

तर
फगत मान्छे !
अस्तित्वको एक मुठ्ठी उज्यालो बोकेर
दिउसै हिँड्न समेत डराइरहेका छन् ।