श्रीमान्,
प्रेमको सुन्दर कल्पनाबाट सुरु भएको हाम्रो सम्बन्ध
आज यो अदालतको कठघरामा उभिएको छ !
सोचेको थिएँ
मुगलान पसेर अलिकता खुसीहरु किनूँ
उपहार दिऊँ मेरी प्रेयसीलाई !
आकाशको जून झार्न नसके पनि
अरबबाट उसलाई घाम पगालेर पठाएको थिएँ
घर सम्हाल्नू है प्यारी मनभरिको निश्चल प्रेम पठाएको थिएँ !
म उसलाई रातो साडी बोकेर मुगलानबाट फर्किएँ
एक परेवाले कालो समाचार बोकेर ल्यायो
कोइलीले आफ्नो गुँडमा कागको बच्चा हुर्काउदै छ रे
प्रेयसीको प्रेमजाल विगत केही वर्षहरु देखि
अर्कैको झेक्रोमा झाङ्गिदै छ रे !
यो आरोप मात्र होइन श्रीमान्
मैले सप्रमाण भेटेको छु उनीहरुका मिलनहरु
मैले सप्रमाण देखेको छु उसका आधारहीन् अधरहरु !
उसको बैंक खाता जाँच गरियोस् श्रीमान्
मेरो रगत पसिनाका डामहरुका सबुत त्यहीँ छरपष्ट छन् !
गएकै महिना उसलाई हार किन्ने उपहार पठाएको थिएँ
तर आएकै महिना उसले मेरो गलामा हार पहिर्याइदिई !
खुलेरै म माथि आरोप लगाइयो
मेरो आर्थिक दरिद्रताले उसलाई थेग्न सकेन रे
उसका कैयौँ स्वर्णिम वर्षहरुलाई जलप लगाइएन रे !
म सोध्न चाहन्छु श्रीमान्
उसको मानसिक दरिद्रताले म ग्रसित भएँ कि भइनँ ?
उसले मेरा स्वर्णिम वर्षहरुमा तेजाब खन्याई कि खन्याइन ?
श्रीमान्
उसले आफ्नो क्षतिपूर्ति बापत
मेरो सम्पत्तिमा पनि दाबी गरेकी छे
उसलाई अदालतले न्याय नै गरोस्
म फेरि बसाउँला अर्को संसार त्यो अर्कै कुरा
एकपटक नारी जातिबाट टुटेको यो विश्वासको मूल्य कति हो श्रीमान् ?
यसको क्षतिपूर्ति कसले दिन्छ मलाई ?
मेरो प्रेमको अन्धोपनले त मलाई यो कठघरामा उभ्यायो ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।