उस्तै उस्तै देखिन्छ कैलाली र काठमाडौँ

 

सुन्दा अचम्म लाग्ला
अपत्यारिलो
तर मेरो आत्माले देखिरहेको सत्य हो
उस्तै उस्तै छ अवस्था
काठमाडौँ र कैलालीको !

जसरी कि क्षणभरको लागि उस्तै उस्तै देखिन्छ
साँझ र बिहानीको अवस्था !

जसरी कि उस्तै उस्तै देखिन्छ
सुत्न लागेको र
उठ्न लागेको मानिसको अवस्था !

आर. मानन्धर

जसरी कि उस्तै उस्तै देखिन्छ
दासत्वबाट मुक्त हुँदै गरेको र
दास बन्ने प्रकृया सुरु भएको मानिसको अवस्था !

जसरी कि उस्तै उस्तै देखिन्छ
बन्धनबाट मुक्त हुन खोज्दै गरेको र
बन्धनमा बाँधिन लाग्दै गरेको मानिसको अवस्था !

उफ् उस्तै उस्तै हुन्छ
बेहोसीबाट उठ्दै गरेको मानिस र
बेहोस हुन लागेको मानिसको अवस्था !

उस्तै उस्तै त हुन्छ
समाप्तितिर लागेको सभ्यता र
पुनरुत्थानको लागि उठ्दै गरेको सभ्यता !

श्रोतः नेपालभाषा टाइम्स

कवि परिचय

आर. मानन्धर (ई. १९६६) मूलतः नेपालभाषाका लेखक हुन् । विशेषतः दर्शनलाई विषयवस्तु बनाएर लेख्ने कविको रूपमा परिचित छन् । यदाकदा उनी समसामयिक विषयवस्तुमा पनि लेख्छन् ।

उनका पुस्तकहरू नेपालभाषामा ‘कुलांयाथिया’, नेपालीमा ‘क्षितिजको स्पर्श’ र ‘कवितामा आकाश’प्रकाशित छन् । साथै, उनी अंग्रेजी पुस्तक ‘कन्सियस लीडरशिपः अ जर्नी विथइन’ का लेखक पनि हुन् ।

 

मूल नेपालभाषामा