जनता ताक्ने मुढो
नेतृत्व ताक्ने घुँडो
निर्बाध गाउँ सहर
विगतका जनलहर
कहिल्यै किन बुझेनौ कमरेड !

चुनावी आकाशमा मात्र
उदीयमान त्यो नक्षत्र उदायौ
घोषणापत्र बनेर कराउनु करायौ
न सुखी बनायौ न समृद्धि फलायौ
बनाउन न त थिलथिलो बनाएर
कालजयी पीडाको गाँस खुवाउँदै
घर न घाट किन बनायौ कमरेड !

गम्भीर दुवाडी

हार जीतको नतिजा सुन्दै
आफ्नै बहकाउमा समिधा गुन्दै
निःकृष्ट लाञ्छना उन्दै
मतदातालाई भेडा किन भन्यौ कमरेड !

व्यवस्था फेर्यौ प्रवृत्ति फेरेनौ
कलंकितलाई अँगाल्यौ
स्वाभिमानलाई फाल्यौ
सोझालाई सुली
बाङ्गोलाई चौतारी
खोजेर रोजेर दिने
मिसाउने कोदो र तोरी
किन खोज्ने राजनीति जोरी कमरेड !
साउनमा आँखा फुट्या गोरु
सधैँ हरियो देख्ने
शकुनिको प्रपञ्चमा
नाच्न खोज्ने
घुम्न नजान्ने
आँगन टेडो देख्ने
धर्ती प्राणीको घाँटी
भाँच्न खोज्ने
तिमी आफै औतारी
हैन र कमरेड !

खौलो परेर नि चेत नपाउने
सदैव भुमरीमा रमाउने
मेरै बारी मेरै घाँस
मेरै जगल्टाको सत्यनाश
बिहानै उठेर
तिम्रो चिह्नमा
मत जाहेर गर्ने
म कसरी भेडा भएँ कमरेड !

चुनाव पछि एकोहोरो
भट्टीमा ताली पिट्दै
मलाई भेडा भन्ने
तिमी आफै
महा भेडा हैनौ र कमरेड !

गजुरी-धादिङ्ग