मेरा छोरीहरु पराई घर गए
उनीहरू आ-आफ्नो घर गरिखाने भए
पराइकी एक छोरी मेरो घरमा चाहिएको छ
मलाई ससुरा हैन बुबा सम्झेर माया गर्ने
मलाई एउटी असल बुहारी चाहिएको छ।
बा भोक लाग्यो होला खानुस् भन्दै
चिया खाजा हातमा थमाइदिने
बा लुगा मैला भएछन् खोल्नुहोस् धोइदिन्छु भन्दै
सफा लुगा थमाइदिने
बा रुघाखोकिले सताएछ है लौ खानुहोस् भन्दै
हल्दिपानी तताएर दिने
मैले सोधेका कुरा
झर्को नमानी बताइदिने
मैले नुहाउने पानी सधैँ तताइदिने
पराइकी एक छोरी मेरो घरमा चाहिएको छ
मलाई एउटी असल बुहारी चाहिएको छ।
परिवारकी अभिन्न सदस्य बनेर
हक माग्ने भन्दा पनि हित सोध्ने
अधिकार जमाउने भन्दा पनि स्याहारले रिझाउने
माहोल तताउने भन्दा पनि
काम गर्दै हँसाउने
कुरा काट्दै हिँड्ने भन्दा
इलम गर्न भिड्ने
पराइकी छोरी मेरो घरमा चाहिएको छ
मलाई एउटी असल बुहारी चाहिएको छ।
म बिरामी हुँदा
झर्को फर्को नगरीकन सुसार गर्ने
लौ बा दवाई खाने बेला भएछ
भन्दै समयमै ओखती खुवाउने
लौ बा ! बसिरहन राम्रो हैन
बिहानीपख हिँडनुपर्छ भन्दै
मलाई हिँड्न लगाउने
पट्यारलाग्दो समय काट्न मलाई मन पर्ने पुस्तक ल्याएर दिने
नर्स भन्दा माथिकी उपचारिका
छोरी जत्तिकै माया गर्ने परिचारिका
पराइकी एक छोरी मेरो घरमा चाहिएको छ
मलाई एउटी असल बुहारी चाहिएको छ
मलाई एउटी असल बुहारी चाहिएको छ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।