(‘भाइरल कविता’अन्तर्गत यसपटक युगकवि सिद्धिचरण श्रेष्ठको बहुचर्चित कविता ‘मेरो प्यारो ओखलढुङ्गा’ प्रस्तुत गरेका छौँ । याे कविता फेसबुक पेज तथा ग्रुपहरूमा देखापरिरहेको हुन्छ । विशेषतः यो कविता जुनै बेलामा पनि चर्चामा आउने गर्छ । यही कविताकाे भावलाई समातेर धेरै कविताहरू लेखिने गरेका छन् ।
हामी हरेक साता यस्ता कविताहरूकाे खोजी गरेर यहाँहरूसमक्ष प्रस्तुत गर्ने प्रयास गर्नेछाैँ। )
मेरो प्यारो ओखलढुङ्गा
तिम्रै सुन्दर हरियालीमा
तिम्रै शीतल बक्षस्थलमा
यो कविको शैशवकाल बित्यो
हाँस्यो खेल्यो वन-कुन्ज घुम्यो
मेरो प्यारो ओखलढुङ्गा !
जब म चढेर भावको डुङ्गा
सैर गर्छु स्मृतिको प्रिय गङ्गा
स्वप्न गगनबाट सुशीतल जल
सुख-स्मृतिको बर्सिन्छ रिमझिम
मेरो प्यारो ओखलढुङ्गा !
कुसुमाकरको आँचल पक्री
मलाई कति खोज्दी हुन् प्रकृति
मृग सावकहरू उफ्री-उफ्री
अरु लतिकाहरू हल्ली-हल्ली
मेरो प्यारो ओखलढुङ्गा !
ती अविरल परिश्रमी पतकार
द्रुतगामी निर्झर तुल्य चपल
बहँदै वनवनमा चारैतिर
खोज्दा हुन् मेरो पथको पथ
मेरो प्यारो ओखलढुङ्गा !
तामाकोसी त्यो सुनकोसी
त्यो गिरी फोरी बहने रोसी
मेरो हृदयको तिम्रो चित्र
पारिरहन्छ हरदम पवित्र
मेरो प्यारो ओखलढुङ्गा !
भाग्य लहरमा लहरी लहरी
पुगेँ म यस मरूस्थलमा कसरी
तर खेद छैन तिम्रो आकृति
लेखिएको छ यो हृदयभरि !
मेरो प्यारो ओखलढुङ्गा !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।