मलाई प्रेम थाहा छैन वीरेन्द्र
कस्तो हो माया म जान्दिनँ
दुखिया छु म आफैँ के समाल्नु तिमीलाई
भासमा छु म आफैँ के दया दिनु तिमीलाई ?
कि माया त मेरो भाग्यमा छैन
नत्र मेरा बाउ मसँग उभिएका हुनेथिए आज
एक्ली आमाको दुःखसँग दुख्दै
तिनको आँसुले धोएको छ मेरो खुसी त
मेरो जिउभरि दुःखै त उम्रिएको छ ।
मेरा जिउभरि दुःखै त सजिएको छ ।

तिमी मेरा दुःखहरुको जरिया
मनसम्म पुगिदेऊ र नछेक मेरो बाटो
तिमी मेरा अनुनयहरुको जरिया
स्वीकृतिसम्म पुगिदेऊ र नगर कुनै आग्रह
तिमी मेरा जिम्मेवारीका गहसम्म पुगिदेऊ
र नदेख मेरा गालामा लाली ।

ज्योति जङ्गल

मलाई खुसी हुन त बडो भय लाग्छ
यो तेह्रै वर्षमा
कति बृद्ध वर्षकी भएकी छु म
सोचिरहन्छु पासी भएर किन जन्मिएँ म ?
कुनै मान्छे भएर जन्मिएकी छैन म
तिमी भर विरादरीको बडिया मानिस
मसँग एक हुन सक्दैनौ वीरेन्द्र !
तिमी पच्चीस वर्षका लक्का मानिस
मसँग एक हुन सक्दैनौ ।

तिमी बुझ्दैनौ मभित्रका अनेकन त्रासहरु
किन बुझ्दैनौ मभित्रका हजार डर
आज पनि
मेरा शिरमा हात राख्न सक्दिनन् तिम्री आमा
बित्था
मलाई छोएर जुठा हुनेछौ तिमी
लघार्ने छिन् उनले मलाई
गाईलाई धपाएजस्तो
पछार्नेछिन् निर्मम फोहोरलाई मिल्काएजस्तो ।

पटक्कै रमाइलो छैन यो जङ्गल
यहाँ उभिएका साल र सिसौका बोटले
छोपिदिएको झारजस्तो
पहेँलो छ मेरो जिन्दगी
जीवनको ज्योति छेलेको छ परिबन्दले
आधा गाँस आधा पाइला र आधा छानोमुनि
आधा आङ मात्रै छोपेको
देखेकै छौ मेरो दुनियाँ र पनि
कसरी मेरा गाला इन्द्रेणी भनेको तिमीले ?
कि तिमी पुरूष मात्र छौ
कि तिमी प्यासी मात्र छौ
झुटा शब्दहरु बोलिरहेका त होइनौ ?

मेरा अनपढ हातहरुले
कसरी रचना गरुन् जीवन ?
म असहाय पो छु वीरेन्द्र !
म तिम्रो जीवन रचना गर्ने देवी बन्न बाँकी छ
म तिम्रो छहारी बन्ने सयल हुन बाँकी छ ।

यो रोहिणी खोलामा पानी कहाँ छ ?
पेट्रोल बगिरहेछ
ज्वाला उठिरहेछ दनदन यो घामले
मकै गोड्न मेला गएकी मेरी आमाको पेटमा
यसरी नै बलेको होला भोकको ज्वाला ।
यसरी नै बगेको होला निधारमा पसिना ।

शान्ति हुन् मेरी आमा
भोकमा पनि शान्त बन्छिन्
तिनलाई खाना बनाउनु छ
बाटाको धुलाले छोपियो होला घर आँगन
पिँढीमा पोछा लाउनु छ
गाईहरु भोकै मेरो बाटो हेर्दैछन्
घाँसभुसा दिनू छ
मैले ढिला नगरी जानुपर्छ
नसमाऊ, छोड मेरा हात ।

किन मेरो मुख थुनेको ?
लौ न नलडाऊ मलाई
नाइँ नाइँ ! यसरी जब्बर नहोऊ
प्रेमी हुँ भन्दाभन्दै कसरी राक्षेस हुन थाल्यौ ?
राक्षेस नहोऊ वीरेन्द्र मानिस भएर
वीरेन्द्र !!!