म अर्थहरूसँग भौतारिइरहेको मान्छे
म शब्दहरूको रहरमा ब्यप्त भई
यो सहरको कहरमा गुम्सिएको मान्छे
साहराहरू संचयबाट टाढा गई
म अस्थिरतामा दिशा खोजिरहेको मान्छे ।

मेरो प्रेम भावबाट विचलित भइरहँदा
म आँैशीमा जून खोजिरहेको मान्छे ।

जब आशाका किरणहरू ओसिएर जान्छन्
अनि नदेखेका सपनाहरू छेदविछेद हुन्छन्
म त्यही अङ्गभङ्ग मष्तिक लिएर
अविश्वासको टुक्रोमा हिँडिरहेको मान्छे ।

अर्धपनमा बाडुल्की मार्दा
अवचेतनाका आगन्तुकहरू अर्धचेत भइरहँदा
म अधबैँसे समयमा आधार खोजिरहेको मान्छे

म मान्छे आधा अधुरा
मेरो चरमोत्कर्षण अपुरा
पूर्णकालिन बिम्बमा
म आदिम पराक्रमसँग जुधिरहेको मान्छे ।

म हराएको मान्छे
म सपनाको मान्छे, म विपनाको मान्छे
म भीडहरूको मान्छे
म एकान्तको मान्छे
म मूर्खहरूको मान्छे
म सज्जनहरूको मान्छे
अनि म मान्छेहरूको एक अनौठौ मान्छे ।