साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

बसन्त श्रेष्ठको तीन छोटा कविताहरु

Chovar Blues Mobile Size
बसन्त श्रेष्ठ

१.
सपना

मैले मीठो कल्पना गरेको बेला
आँखामा सुन्दर सपना आइदिन्छ
बिपनाको बेला
मेरो सुन्दर सपना भागी भागी हिँड्छ
यही कारण हो
म सुन्दर सपना नदेखूँ भन्छु
किनकी
मलाई मेरो मीठो सपना
सधैँ सधैँ बिपना जस्तै भएको
देख्न मन लाग्छ !

२.
गाउँ

सुनेका छौ ?
पाहुनाको कसरी स्वागत हुन्छ गाँउमा ?
वर पिपल चौतारीले
कसरी छेउमा बस्न निम्ताउँछ
देउराली डाँडाले कसरी
ढुङ्गा र पाती चढाउँन भन्छ
बारीका कान्ला र पँधेरोले
कसरी तिम्रो नाता केलाउँछ
तिमीले थाहा पाउँन सक्छौ
यदि तिमी
सच्चा गाउँले हौ भने ।

३.

सहर

यो भन्दा त्यो अग्लो
त्यो भन्दा यो अग्लो
सहरमा अग्ला अग्ला घरहरु
कसरी मिलेर बसेका छन्
अग्ला अग्ला घरका वरिपरि चाहिँ
साना साना नमिल्दा झुप्राहरु छन्
तर थाहा छ
ती अग्ला अग्ला घर बनाउनेहरु सबै
ती साना साना झुप्रामा बस्छन्
कर्मको फल भन्दै
आफ्नो भाग्यलाई धिक्कार्दै
भोक भोकै आँसु बगाउँदै
भोलिको प्रतिक्षामा
आफै भित्र हराउने
ति व्यर्थै कोसिस गर्दछन् ।

बसन्त श्रेष्ठ
भर्जिनिया, अमेरिका

प्रतिक्रिया
Loading...