माधव खनाल

वर्तमान
घुम्तीमा रुमलिँदै छ
घरदेश भन्दा परदेशमा छ
तातो बालुवामा छट्पटाउँदै छ
घाम फुटपाथमा सुतिरहँदा
सत्यमा छारो हालिन्छ
न्याय मन्दिर
बेचिन्छन्
जोखिन्छन्
पैसाको कालो तराजुमा
सत्य
क्यारेम बोर्डको गोटी जस्तै
ठोकिन्छ
बजारिन्छ
पछारिन्छ
हामीहरु
आँखामा पट्टी बाँधेर
उज्यालो मार्ग
ठम्मयाउँन नसकी
अर्काको हातको रिमोट
पैतालामा जोडी
भौतारिइरहन्छौँ
र अनिश्चित भविष्यमा होमिन्छौँ ।

बुद्धको पाइलामा
रगतको थोपा पोखिन्छ
समय लाटो बन्छ
मूर्ति जस्तै
खेदो खनिन्छ
शिर छेदन गरिन्छ
अनि शक्तिको शालीक बन्छ
वर्तमान घुम्तीमा रुमलिन्छ
विष रोपेर अमृत खोज्नेहरु
आगो तापेर
चिसो हिँउदमा शिर छोपेर
पाहाडका कान्ला गरामा बगेका पसिना
घरदेशबाट ओरालो लाग्छन्
करेसाबारी थारो बनाउँदै
तिते पातीको गन्ध गन्धमा
सुगन्ध थाहा नपाएकाहरु
माटोमा सुनको खेती नदेखेकाहरु
पराइको भूमि टेकेपछि थाहा पाउछौँ
पसिनाको मूल्य र
सङ्घर्षको वर्तमान ।

माधव खनाल
                                      उमेर १७
                                 ठेगाना लमजुङ