उष्ण प्रदेश
मरुभूमि जडित
दक्षिणमा छ !
मेरो गाउँमा
दक्षिणी हावा
गर्मी ल्याउँछ
पश्चिमी वाणिज्य वायुसँग मिसिएर
सुक्खापना बढाउँछ
रैथानेलाई पन्छाएर
हाइब्रिडलाई रङ्गरोगन गर्छ ।
गर्मी बढ्नु भनेको
रिस घमण्ड बढ्नु रहेछ
सुख्खा हुनु भनेको
विवेक शून्य हुनु रहेछ
रैथानेलाई पन्छाउनु भनेको
मौलिक संस्कृति हराउनु रहेछ
हाइब्रिडलाई रङ्गरोगन गर्नु भनेको
विविधतामा रहेको एकता तोड्नु रहेछ
द्वन्द्व बढाउनु रहेछ ।
रिसाहा घमण्डी बनेर
विवेक गुमाएर
संस्कृति मासेर
मन कसरी शान्त हुन्छ हुन्छ र ?
अशान्त मनले जीवनमा
कसरी आनन्द दिन्छ र ?
शीत प्रदेश
हिमालय शोभित
उत्तरमा छ !
मेरो गाउँमा
उत्तरी हावा
हिमकणका चुम्बनसँगै
चिसो सिरेटो बन्छ
रैथाने बोटबिरुवासँग मिलेर
दुर्गन्ध हटाउँछ
माटोको उब्जाउ शक्ति बढाउँछ
चिसो हुनु भनेको
उम्लेको सेलाउनु रहेछ
रिस घमण्ड घटाई
विवेकको जागृति हुनु रहेछ
माटोको उब्जाउ शक्ति बढ्नु भनेको
विकास र समृद्धि आउनु रहेछ
विवेकको जागृतिले
मन शान्त हुन्छ
शान्त मनले जीवनमा आनन्द दिन्छ ।
तपाईँ जस्तै म पनि
जीवनमा आनन्दित हुन चाहन्छु
त्यसैले मेरो गाउँमा
दक्षिणी हावाभन्दा बढी
उत्तरी हावा चलोस् भन्ने चाहन्छु ।
खुसीको स्रोत
हिमकण चुमेको
उत्तरी हावा !
महाङ्काल –४, ललितपुर
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।