साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

ज्याेति जङ्गलकाे लामो कविता: अङ्गीरा खण्डः १

Chovar Blues Mobile Size

१.

मेरो प्रेम हो यो अङ्गीरा !
वीरेन्द्र बोलिरहेको छ
अङ्गीरा !
म जन्मेको देवदहको माटो छोएर
तिमीलाई अङ्गालो हाल्छु ।
यो बुद्धको मावली आँगनमा
पालुवाले झपक्क छोपेको यो हरियो जङ्गल
हामीलाई पहरा दिइरहेका साल र सिसौका रुखहरु
झल्लरी झैँ प्रेमको हावा हम्किरहेका
यिनका पातहरुका माझ
ग्रीष्म ऋतुको यो उष्ण उकुसमुकुस्
र मन उत्तिकै उष्ण छ
हावा मेरो तनको तातो बोकेर
यताउता उडिरहेको छ ।

ज्योति जङ्गल

घाम मस्त मात्तिएर टल्किँदै
जङ्गल डुलेको हेर न अङ्गीरा !
जेठको यो किरण हीराभन्दा पनि चमकदार छ
जबजब डुब्छ किरण रोहिणी खोलाको पानीमा
इन्द्रेणी जन्माउँछ
तिमी मेरी रोहिणी हौ अङ्गीरा !
माया इन्द्रेणी हो
जहाँ सातै रङ्ग खुलेर आउँछन्
मेरी इन्द्रेणी हौ तिमी
हेर ! यो इन्द्रेणी तिम्रा गाला चढिरहेको ।

म तिमीमा मात्रै छायाको शीतल पाउँछु
तिमीमै अनन्त सपनाहरु सजाउँछु
तिम्रा ओठहरु मेरा मुस्कानका कारण हुन्
तिम्रो माया नै मेरो जीवनको बाहक हो ।

कसम लेऊ !
मलाई हात देऊ
मेरा सम्पूर्ण इमानको बाजी लाएर भन्छु
जीवनभर तिम्रा हातहरु छोड्ने छैन
जुवान लेऊ ! हुनेछैन कदापि बेइमानी
साथ हुनेछु जीवनभर अङ्गीरा !
जबसम्म म हुनेछु
तिमीसँगै सधैँ उभिइरहनेछु
जसरी अहिले छु म ।

एक नारी तिमी छहारी
रचना गर्छिन् संसार स्त्रीले
तिमीमै संसार रचना गर्न चाहन्छु
तिमी स्त्री तिमी देवी तिमी रचना
अङ्गीरा ! म स्वयम्लाई रचना गर !
मेरो थर्थराइरहेको आँतलाई
शीतलता प्रदान गर
तिमी दयाकामिनी हौ
मलाई समाल ।

लेखक परिचय
जज
ज्योति जङ्गल
प्रतिक्रिया
Loading...