नेता ज्यू
लिपुलेकका घरका मुहारहरु
रङ्गिएका छन् कि छैनन् ?
सखरभन्दा सयौँ गुणा
गुलिया कुराहरू छापिएका पोस्टर पम्प्लेटहरुले
नौनीभन्दा कयौँ गुणा
चिल्ला कुराहरु समेटिएका भित्ते लेखनहरुले ।
नेता ज्यू
कालापानीलाई
बेहुली सिँगारेझैँ सिँगारिएका छन् कि छैनन् ?
ताताताता कुराहरू लेखिएका
राताराता तुल व्यानरहरुले ।
नेता ज्यू
लिम्पियाधुराको छातीमा
फररर नचाउँदै पार्टीका झण्डाहरु
बररर आँसु झार्नुपर्ने दिनलाई बिदा गर्ने वाचा गर्दै
पररर तालीको वर्षा गराउँदै
चुनावी आमसभालाई कतिपल्ट सम्बोधन गरे ?
हजुरको पार्टीका सो क्षेत्रका उम्मेदवारहरुले ।
नेता ज्यू
मुस्कान छर्दै
नजिक सर्दै
एक भोटको लागि प्रत्येकले नमस्कार गर्दै
चुच्चे नक्सा वासीहरुलाई
मतदाता शिक्षाको पाठ घोकाए कि घोकाइएनन् ?
हजुरका कार्यकर्ताहरुले
र उनिहरुलाई भेट्न
काठमाडौँबाट कहिले बाटो लाग्दैछन् ?
मतदाता परिचयपत्रहरु ।
नेता ज्यू
नजिकिँदै गरेको हजुरहरुको परीक्षाको दिन
माथि उल्लेखित कुनकुन गाउँको
कुनकुन ठाउँमा को को खटिदै छन् ?
मतपेटिकाहरु लस्करै उभ्याउनलाई
र रोक्नलाई
मतपेटिकाहरुमाथि हुने सम्भावित हमलाहरु ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।