पुनेश कोइराला

मैले भुडी मेरुदण्डमै टाँसिन लागेका
एक दाप्से किसानलाई देखेँ ।
तिनले सूर्यको प्रकाशमा हसिँयाले
खोरिया फाँडी, माटोमा
हलोको फालीले डोब खिच्दै
रुखका बिरुवा रोप्दै गरेको देखेँ
तब मनमा एक बडो प्रश्न उब्जियो !
के ती दुखियारीले गरेको दुखले
सुखद प्रतिफल देला ?
म बढो गम्भिर बनेँ
ती गण प्रति सहानुभूति जाग्यो
के गर्नु निमुखा तिनका सारा प्रयास
निरर्थक सावित हुदैछन्
किनकी सूर्यरुपी प्रकाशमा
अब त्यो सामर्थ्य रहेन
जसले सारा जीवात्माको पोषण गर्दथ्यो
त्यसको रश्मिका सूक्ष्म एक एक कणहरु
प्रदुषित भैसकेका छन्
प्राण वायुको भण्डार
ती हरिया रुखहरुले
विष बमन गर्न थालिसकेका छन्
ती हसिँया, फाली अनी अरु
के के जाति हुन् के के ?
अर्जाप्नै नमिल्ने गरी भुत्ते
भैसकेका छन्
रातमा टिमटिमाउँदै
शीतलता दिने ताराहरु
तेजहिन् भैसकेका छन्
गाईको दूध, मल, मुत्र सारा
नक्कली सावित भैसकेको छ
ती दुखियारीलाई के थाहा ?
सुखी बन्ने, समृद्ध हुने
सपना साकार गर्ने उनको प्रयास
पटक पटक तुहिदैछ भनेर
कठै, ती अभागीलाई के विवेक ?
सूर्यलाई देव मान्ने
रुखलाई प्राण वायुको स्रोत ठान्ने
गाईलाई कामधेनु भनी पुज्ने अनि
दासत्वमा रुमल्लिदैछन् भनेर
अनि ती औजारहरु पटक पटक
तिनका सुखद् कर्मफलका विरुद्ध तगारो
बन्ने गरेका छन् भनेर ।