साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका
Sahityapost Book

कविताः झरी

Chovar Blues Mobile Size
सविन बुढाथोकी

झरी परेपछि
धेरै कुराहरू आए सम्झनामा
यो गहकिलो बादलले
तिमीसँग छुट्नु अघि
भारी लाग्ने
बोझिलो मनको बाँध सम्झाउँछ
छानामाथिबाट झरेको बलेसीले
धोएर सुकाउन बाँकी भिजेको कपडा जस्तो
गह्रौं मन
तिमीसँग छुट्दै गर्दा
आँखाबाट बग्दै झरेको साउन सम्झाउँछ
ठीक यही बेला
देख्नेहरूले झरी पर्यो भने
भिज्नेहरूले वर्षात् भने
तिमी आँखाको डिलबाट झरी झरेपछि
म नयनको बाटो हुँदै
वर्षात् वर्षिए पनि
आखिर उस्तै पीडा बगेका थियौँ
यो निर्मम झरीले तिमी पनि निथ्रुक्क भिज्यौ
ओभानो थिइनँ म पनि
हामी भिजेको देखेर
हामीलाई निथ्रुक्क भिजाएको देखेर
तिम्रो र मेरो आँखामा
अविराम बगेको आँसु देखेर
यसैबेला
आकाश मायाले बेस्सरी रोएथ्यो
आँखाभरि आँसु बगाएर
उनीहरूले झरी भनिदिए।

प्रतिक्रिया
Loading...