(‘भाइरल कविता’अन्तर्गत यसपटक कवि लेखनाथ पौड्यालको  बहुचर्चित कविता ‘पिँजडाको सुगा’ प्रस्तुत गरेका छौँ । याे  कविता  फेसबुक पेज तथा ग्रुपहरूमा देखापरिरहेको हुन्छ । विशेषतः यो कविता  जुनै बेलामा पनि चर्चामा आउने गर्छ । यही कविताकाे भावलाई समातेर धेरै कविताहरू लेखिने गरेका छन् । 

हामी हरेक साता यस्ता कविताहरूकाे खोजी गरेर यहाँहरूसमक्ष प्रस्तुत गर्ने प्रयास गर्नेछाैँ। )

 

पिँजडाको सुगा

बालक बबुरो द्विज शुकनामा
हुँ म परेको छु पिँजडामा।
मकन हरे ! शिव शान्ति र चैन
सपनाबीच पनि रतिभर छैन ।।

मेरा बान्धव बाबु र आमा
बसछन् वनका एक कुनामा।
कोसित पोखूँ मनको ताप
गर्दै पिँजडाबाट विलाप ।।

आँसु बगाइ कहिले रुन्छु
कहिले मुर्दा तुल्य म हुन्छु ।
कहिले पागलसरी उफ्रन्छु
केवल वनका सुख सम्झन्छु ॥

पुलफूल खाइ नित्य रमाइ
वनमा फिर्ने बिचरालाई ।
विधिले पार्‍यो पिँजडा भित्र
कर्म हरे ! शिव हुन्छ विचित्र ॥

कति फिर्दो हुँ कति उड्दो हुँ
कति कति देशान्तर डुल्दो हुँ ।
दैव ! हरे किन बालकलाई
बन्धन पार्यौ व्यर्थ भुलाइ ॥

शीतल पानी कुञ्ज निवास
भोजन मीठा फलको खास ।
त्यो सब हुनगो आज विनाश
बाँकी छ एकै मनको त्रास ॥

हरिया वनको शीतल छाया
बान्धवसँगको मोह र माया ।
डुल्नू फिरनू फुलफूल खाइ
सपनामय भो हाय ! मलाई ॥

बृद्ध महातुर बाबा जननी
आँसु खसाली दीन बनी।
नित्य रुँदाहुन् हाय ! विधाता !
तोडिदियौ किन त्यो दृढनाता ? ॥

वरिपरि वैरीहरु छन् सारा
छैन कतैतिर कोही सहारा ।
के गरुँ ! कसरी उम्की जाऊँ ?
कोसित मनको दर्द बिसाऊँ ? ॥

यो सब गगनैभरमा खास
जसका हुन्थे भोग विलास ।
उसको अब हा ! जीवन पात्र
केवल सानु पिँजडा मात्र ॥

पिँजडा फोरूँ भनिकन चुच्चो
बलसँग धसदा भो सब बुच्चो ।
बेसरी कुँजिए पक्ष र पाउ
कसरी अब हा ! काल बिताऊँ ।।

कहिले ठण्डी कहिले धूप
कहिले बकबक, कहिले चुप ।
बालकहरुको मनअनुसार
हुन्छ निरन्तर भाग्य विचार ॥

भाग्य तमासा जब सम्झन्छु
अनि पछि सिल्ली तुल्य म हुन्छु ।
आँसु बहन्छन् छाती चिरिन्छ
चित्त निरन्तर रोइरहन्छ ॥

उठ्दछ मनमा घोर तरङ्ग
सबतिर हेरी हुन्छु भरङ्ग ।
प्राण नजाने काल नआइ
के गरी कसरी बाँचूँ हाइ ! ॥

खानु छ खाली तौली धान
त्यो पनि आधा पेट छ जान ।
हेर्दछु भाँडो पानी छैन
भोगिरहेछु यस्तै चैन ॥

शुष्क छ घाँटी, बन्धन चर्को
बोल्नु पर्ने झर्को अर्को ।
बोली नबोलूँ लट्ठी उजाइ
हुन्छु तयारी पिटनलाई ॥

यौटा भन्दछ यो हो पाजी
अर्को भन्दछ यो छ बिराजी ।
भन्दछ तेस्रो आत्माराम !
पढो पढो जी राखो नाम ! ॥

यो कस्तो हो ? कसरी आयो ?
बसिकन पिँजडाबीच के खायो !
यो सब बुझ्ने कोही छैन
हाय ! यसैले मन रहँदैन ॥

जीवन अर्पी बन्धन भित्र
बोल्नुपर्ने बोली विचित्र ।
तैपनि चारा आधा मात्र
देव ! रहेछौ करुणा पात्र ॥

दैव ! दिएथ्यौ तिमीले एक
बोल्न सक्ने शक्ति विवेक ।
पाइरहेछु तेसैद्वारा
बन्धन गाली धम्की सारा ॥

मकन दिलाइ सङ्कट जेल
मानिस गर्ने कौतुक खेल ।
यो कस्तो हो पापाचार !!
दीन दयालु ! लाऊ पार ॥

गुणको वैरी मानुष जाति
शुष्क गराइ गुणिको छाती ।
प्राण पखेरू नलिए सम्म
खुश किन हुन्थ्यो हाय ! अचम्म ॥

पृथ्वीतलमा यौटा सम्म
मानिस बाँकी रहँदा सम्म ।
नाथ सुगाको जन्म नहोस
बल्ल मलाई आयो होश ॥