जीवन जिउनमै व्यस्त भइरहेँ
त्यसैमा नै अभ्यस्त भइरहेँ
कविता मैले तिमीलाई देखिनँ
कविता मैले तिमीलाई लेखिनँ ।

म, थाहा नभएको
अथाह प्यासको तपसमै लिन भएँ
अज्ञात बाटोमा दौडिनमै तल्लिन भएँ
बालेर आफ्नै मुटु
म जलिरहेँ
आफ्नै आगोमा दन्दनी बलिरहेँ
कविता मैले तिमीलाई देखिनँ
कविता मैले तिमीलाई लेखिनँ।

शिव गौतम

मेरो तपस्या भंग गर्न
दन्त्य कथाका
परी-नृत्यांगना जस्तै
हाउ-भाउ कटाक्षले
मेरो ध्यानाकर्षण गराइरह्यौ
नाची रह्यौ
मेरा कलमका टुप्पामा
कागजका खाली पानामा
मेरा भावनामा, मेरा सपनामा ।

मेरै जिजीविषाका धमिराले
चपाइरहे मलाई
च्यबनलाई जस्तै एकाग्रतामा
म माटोमा मिलिरहेँ
कविता मैले तिमीलाई देखिनँ
कविता मैले तिमीलाई लेखिनँ ।

अहिले सम्झन खोज्छु
सायद फूलका ओठबाट बोल्यौ सुवास
सायद आकाशमा इन्द्रेणी घोल्यौ रङ्गहरू
रातको बेदना सायद शीतमा रोयौ उच्छ्वास ।

इशारा गरिरह्यौ म तिर
यो आकाश
यो बतास
यो सम्पूर्णता
यो व्याप्ति
म भने खोजीमै रहेँ
अपरिमेय अपरिचित अप्राप्य प्राप्ति ।

म आफ्नै संसार संरचना गर्दै रहेँ
बुद्धहरू र युद्धहरू सिर्जना गर्दै रहेँ
आँफै स्रष्टा
आफ्नै सृष्टि गर्दै रहेँ
कविता मैले तिमीलाई देखिनँ
कविता मैले तिमीलाई लेखिनँ ।

आफ्नै विजयमा
आफैँ परास्त भइरहेँ
जीवन जिउन मै व्यस्त भइरहेँ
त्यसैमा नै अभ्यस्त भइरहेँ
कविता मैले तिमीलाई देखिनँ
कविता मैले तिमीलाई लेखिनँ।