मन त फलामकै भए असल हुन्छ
न घात प्रतिघातमा रुन्छ
न सयपत्री र बाबरीले बाटो थुन्छ
मन त फलामकै भए असल हुन्छ ।
कसैले यसो चिमोट्यो
एक कप्टेरा मन उतै टाँसियो
कसैले एउटा मुस्कान फ्याँक्यो
अलिकति मन पछ्यौरीमा गाँसियो
जहिले पनि जलेकै छ
जता पनि ढलेकै छ
मनको वह कसैलाई नकह
कस्ले सुन्छ ? कस्ले गुन्छ ?
मन त फलामकै भए असल हुन्छ ।
वसन्तमा वन फुल्यो
मन उतै भुल्यो
वैंशले जाउँ है भन्न थाल्यो
पीर झन ठूलो
आकाश देख्यो आकाश जस्तै
बतास चल्यो बतास जस्तै ।
नौनी जस्तो मेरो मनलाई
जसले पायो उसले छुन्छ
त्यसैले त मन फलामकै भए असल हुन्छ ।
साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला