जाग्नु सधैँ सुन्दर हुँदैन !

एउटा सन्तुष्ट मन लिएर सुतिरहेको
स्त्रीलाई हेर्दा थाह पाइन्छ
कि जाग्नु भन्दा सुत्नु कहिले काहीँ अधिक सुन्दर हुन्छ ।

एउटा अबोध बालकले आमाको स्तन चुसेर जब भुसुक्क निदाएको हुन्छ
तब पनि लाग्छ जाग्नु भन्दा अधिक सुन्दर हुन्छ सुत्नु ।

निर्मल आग्रह

तर एउटा वासनाले छट्पटिरहेको व्यभिचारी पुरुष
जब खुल्ला आँखा राखेर सुतिरहेको हुन्छ
त्यति बेला लाग्छ
जाग्नु कहिले काहीँ अधिक खतरनाक हुनसक्छ ।

तर एउटा लोभी चिन्ताले ग्रस्त भ्रष्ट साहु
जब खुल्ला आँखा डुलाइरहेको अवस्थामा पनि सुतिरहेको हुन्छ त्यति बेला लाग्छ
जाग्नु पनि कति खतरनाक हुनसक्छ ।

जाग्नु ! जाग्नु !जाग्नु !

जब जाग्नु भनेको अन्यायहरुको विरुद्ध न्यायको आवाज उठाउनु हुन्छ
जब जाग्नु भनेको कमजोर निर्बल निसहायहरुको पक्षमा बल बढाउनु हुन्छ
जब जाग्नु भनेको समाजमा स्थापित असमानता असुरक्षा असंगतहरुको विपक्षमा उभ्भिनु हुन्छ
तब जाग्नु सुन्दर हुन्छ !

तर निद्राको स्पर्शले त कहिले पनि कसैलाई पनि
छुन सक्छ
वा जहाँ सब सुतिरहेका छन्
जहा जागो कोही छैन
यस्तो बेला जब एउटा शीतल हावाको झोंक्काले
छोएर जान्छ र मेरो सामुन्ने एउटा कालो छाया
लरबरिन थाल्छ

त्यति बेला मैले भन्नु पर्ने एउटा कुरा यही हुन्छ
है जीवनदायिनी !
भोलि हामी सब एक साथ जाग्नेछौँ !

र दुनियाँले देख्नेछ कि जाग्नु
जब निर्माणको पक्षमा हुन्छ त्यो जस्तो केही
सुन्दर छैन संसारमा !

०००
निर्मल आग्रह ,सिलगढी ,भारत ।