समय गोलो सिसाको बाकसभित्र
किलामा थुनिएका घडीका सुईहरू झैं
जंजीरले बाँधेर बन्द कोठामा थुनिएको छ
मान्छे युद्धका धुवाँको छायामा रुमिएका
बालबालिका र बुढाबुढीहरू झैं
यो मन्द महामारीको त्रासमा रुमिएको छ ।
समयकै साङ्लोमा ऊसंगै बाँधिएर
बन्द कोठाका झ्यालहरूबाट
चियाउँदै ति ज्यान हत्केलामा राखेर
लड्न महामारीसँग
डिउटीमा खटिएका सुरक्षाकर्मीहरू
चिकित्सक, स्वयंसेवकहरू, संचारकर्मीहरू
जो महान छन्, आफैँमा महान ।
महामारी भुसको मन्द आगोझैंँ
फैलिरहेछ चारैतिर
उसको देशबाट तिम्रो देश
तिम्रो देशबाट मेरो देश
उसको देशभरी
तिम्रो देशभरी
मेरो देशभरी
हामी सबैको साझा देश संसारभरी ।
टेलीभिजनको पर्दामा देखाइएका
पुर्दै गरेका लाशहरूका ढेरहरू
रेडियोको तरगबाट सुनाइएका
बढ्दै गरेका मृतकका गणनाहरू
देखेर, सुनेर
मनहरू आत्तिन्छन्
हौंसलाहरू निसासिन्छन् ।
तर हार्ने छैनो
डटी लड्ने छौं एकजुट भएर
यो रोगका विरुद्ध
यो महामारीका विरुद्ध
यो धर्तीको माटोमा हाम्रो स्वामित्वका निम्ति
यो पृथ्वीमा मानवजातिको अस्तित्वका निम्ति
र एक दिन अवश्य परास्त गर्नेछौं ।
अनि हिँड्नेछौं, बिन्दास हाम्रा बाटाहरूमा
अनि गुड्नेछौं, निर्वाध हाम्रा सडकहरूमा
र उड्नेछौं, निस्फिक्र हाम्रा हवाईमार्गहरूमा
जो भर्नुछ लाखौं सपना बोकेका
करोडौं जिन्दगीहरूले
हजारौं मिलको उडान ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

