

डिजिटल बजारमा सजाएको छु
तिम्रो उत्ताराधुनिक मृत्युको बेरोजगार घाँटी
सत्ताको सास्ती भोगेको तिम्रो टाउकोलाई
म अचानोमा राख्दिनं अब
बरू तिमीलाई
म
सहज मृत्यु दिन्छु, अर्थात् डिजीटल डेथ |
नवउदारवादी बजारले तिम्रो भोकलाई
हारालुछ गर्दै किन्न भीड लागेपछि हो
यो मल्टीप्लेक्स शहरको जिब्रोमा खटिरा निस्केको |
यो घोसे महानगरको मध्यभागमा
ठिंग उभिएको मुखाल्नी तरूणीजस्तो सपिङ मलको दैलोमा
तिम्रो बेइज्जत भएको अनुहारको विज्ञापन टाँसेर
कमसेकम कुनै कम्पनीले आफ्नो पेटपाला त गर्दैछ |
बजारले सखाप पारेको
डिजिटल सपनाको एम्टी पाकेटमा
के के खोजेर हैरान भएका किसानको
आधाकल्चो निद्रा किन्न फेरि
डल्लै अनलाइन बजारको दलाल गाउँ पसेका छन् |
डिजिटल सपिङ्गको बुट्टेदार मासुको बट्टामा
अर्डर गरेको कुनै अफ्रिकी बेरोजगार युवाको
कुपोषित वीर्य चाख्न
शहरको भर्जिन खोक्रो कुमारी सपना
छटपटाइरहेका छन् |
बजारले आजकल लाइभ बेचिरहेका छन्
मासुको हाट |
हावा थुनिएका शहरमा कैद भएको छन्
पसिनाको श्वास र उज्यालो हराएको बजारमा
लापता छन्
सुकरातको एकजोर आँखा
गन्तव्य हराएको आधावैंशे बाटोमा
कैडा लागेको छ समयको खुट्टालाई
बजारले थुतिसकेको छ छुराजस्तो धारिलो बस्तीको जिब्रो
कानको प्वालमा उमारी दिएको छन्
मसिनको जरा |
सडकका कागजसम्मलाई
एउटी अगति आईमाईको रजस्वलामा चोबेर
रातो गुलाब उमार्छन् अनि बेच्छन्
माया पिरतीको कालो बजारमा |
बजारले बौलाहा बनाएको एउटा
बडीबिल्डरको आधाकल्चो पाखुरा कराई हिँड्छ
कसैको बजार बोकेको थाङने झण्डा बोकेर |
हरेकथोकलाई चम्काएर यसरी
अन्धो बनाइदिनु नै बजारको विशेषता हो
युवाहरूको मस्तिष्कलाई चिहान बनाएर
नचाइरहेछन् डिजिटल मृत्युको नृत्य |
आउनोस्, अब तपाईं पनि मन्दिर छोडी
डिजिटल ध्यान शिविर
जहाँ आँखै खोलेर पनि मोक्ष प्राप्त हुन्छ
ईश्वरहरू तपाईंकै अघि छमछम नाच्छन्
किन कि अब ईश्वरहरूलाई पनि बजारले किडन्याप गरेको छ |



