निशान्त बन्जाडे 

कुनै एउटा निश्चित किसानको
भेडीगोठमा
निश्चित भेडीको गर्भाशयबाट
जन्मन्छ एउटा ल्याम्ब
जसलाई स्याहारले हुर्काइन्छ बढाइन्छ
किलामा बाँधिन्छ,खोरमा थुनिन्छ
किनकि उसको जन्म बाँधिनका निम्ति भयो
किनकि उसको जीवन थुनिनका निम्ति हो
कृषकले दिनभर मुक्त छाडेपनि
ऊ साँझ आइपुग्छ बाँधिनका निम्ति
यसरी बाँधिनु र थुनिनु
उसको परम्परा बन्छ
ऊ बाँचुन्जेल किसानले ऊन निकालिरहन्छ
उसलाई
निर्वस्त्र पारिरहन्छ नङ्ग्याइरहन्छ
अन्तत उसलाई लगिन्छ वधशालामा
उसको अघि मीठो घाँस टक्र्याइ
झुक्याएर उसको गर्दन छिनालिन्छ
चर्म मस्तिष्क हृदय यकृत
टुक्रा टुक्रा पारिन्छ एक एक गरि
अलग अलग हिस्सा लगाइ
वितरण गरिन्छ
अनि गरिन्छ भोगचलन।

आज शासकले हामीलाई भेडो र
देशलाई भेडीगोठ बनाएको छ
हामी जन्मन्छौँ निश्चित आमाको गर्भाशयबाट
र जन्मिए लगत्तै बाँधिन्छौँ थुनिन्छौँ
दासताको दाम्लोले हामी यसरी बाँधिन्छौँ
ताबेदारीको ताल्चाले हामी यसरी थुनिन्छौँ
थुनिनु हाम्रो आदत बन्छ।
बाँधिनु हाम्रो लत बन्छ।
शासकले आश्वासनको मीठो घाँस
हाम्रा अघि टक्र्याउँछ
हामी गद्गद् हुन्छौँ
र झुक्याएर उसले
हाम्रा सपनाको गर्दन छिनाल्छ
हाम्रा चाहनाको देह टुक्रा टुक्रा पार्छ
अनि अलग अलग हिस्सा लगाइ
एकआपसमा बाँढेर भोगचलन् गर्छ
यसरी शासकले हामीलाई भेडा बनाउँछ
हामीले चालै पाउदैनौँ
पाएपनि नपाएझैँ गर्छौँ
किनकि हामी भेडा हौँ।