
सदियौंदेखि
मुखियाले कब्जा गरेको
आफ्नै पाटोबारीको
हराएको
प्रमाणित लालपुर्जा
उसले भेट्टाएको छ ।
पुर्खाको बिर्ता
पौरखको कमाइ
पुरुषार्थको त्यो पाटोबारी
उसको स्वाभिमान हो
उसको पहिचान हो ।
बाजे बराजुका
थोपा थोपा रगतले सिंचिएको
त्यो सुन्दर पाटोबारीमा
डङ्गरङ्ग पल्टेका
माटोका प्रत्येक कणकणमा
उसकै पूर्वजका
पौरखी पसिनाको हरक मगमगाइ रहेको छ ।
अब
गोडमेल गर्दै
फसल सपार्नु छ
हुर्काउनु छ
अनि
शक्ति र स्वाभिमानका
वृक्षहरू जगाउनु छ ।
मुखियाको चङ्गुलमा परेको
पाटोबारीको
नीजि हैसियत र स्वामित्व
खोस्नै बाकी छ ।
एउटा कुरा
उसलाई राम्ररी थाहा छ
मुखियाले पनि बुझेको हुनुपर्छ
लालपुर्जाको रंग रातो हुन्छ
रगतको रंग पनि रातो हुन्छ
वीरताको निसानी पनि रातै हुन्छ ।
त्यसैले अब एकपटक
मात्र एकपटक
आफ्नै पाटोबारीका लागि
रातो सङ्घर्ष ।



साहित्यपोस्ट पढ्नुभएकोमा धन्यवाद
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
Scan गर्नुहोला
९ माघ २०८२, शुक्रबार 





