(‘भाइरल कविता’अन्तर्गत यसपटक कवि हरिभक्त कटुवालको  बहुचर्चित कविता ‘रहर’ प्रस्तुत गरेका छौँ । याे  कविता  फेसबुक पेज तथा ग्रुपहरूमा देखापरिरहेको हुन्छ । विशेषतः यो कविता  जुनै बेलामा पनि चर्चामा आउने गर्छ । यही कविताकाे भावलाई समातेर धेरै कविताहरू लेखिने गरेका छन् । 

हामी हरेक साता यस्ता कविताहरूकाे खोजी गरेर यहाँहरूसमक्ष प्रस्तुत गर्ने प्रयास गर्नेछाैँ। )

रहर

बा !
पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।

खिया लागेका कलका पुर्जाहरूजस्तै
गणितका सूत्रहरू पनि साह्रै पुराना भइसके
रहर छैन मलाई बाँचिदिने–
केवल इतिहासका पानाहरूमा
मैले त बाँच्नुपर्छ आउने दिनहरूमा
इतिहासको गतिलाई उछिनेर
इतिहासभन्दा बढी अरू केही भएर
त्यसैले बा !
पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।

हरिभक्त कटुवाल

फ्रेम हालेर राख्ने आदर्शभन्दा
भोग्न सकिने आदर्श मलाई राम्रो लाग्छ
बनिसकेको बाटामा हिँड्नभन्दा
बाटो बनाउँदै हिँड्न रहर लाग्छ ।

इतिहासका ठेली होइन
एउटा कोदालो चाहिन्छ मेरा पाखुरालाई
योजनाले होइन
पैँतालाले नाप्नु छ मैले प्रत्येक अग्ला टाकुरालाई
र, गर्नु छ भुक्तान जम्मै…
धरतीले बोकाएका ऋणहरूको ।

बा !
पाठशाला जान्नँ म
इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको ।