जब शब्दहरू अर्थहीन भैदिन्छन्
लेखिएको अर्थहरूमा मर्म हुँदैनन्
अनि भाव जीवनको विशाल नदीमा
डगमगाएको डुङ्गा जस्तै हुन्छ
नलेखिएको कवितामा निःशब्द सास भरेर म सोच्छु ।

बिहानीको समय
जब चराहरूको एक हुल मेरो आँखाबाट टाडिन्छन्
भावहरू पनि तिनीहरु सँगै उड्न खोज्छन र मबाट दूर हुन्छन्
तब लेखन गाह्रो हुन्छ ।

मेरो देशको चिन्ता
जब मलाई लाग्छ तब लेख्न गाह्रो हुन्छ
जब जमानामा प्रेम र मायाको काल्पनिक यथार्थ म देख्छु
तब लेखन गाह्रो हुन्छ
एउटा सानो प्रकाशको सहायताले
म उज्यालो ल्याउन खोज्छु जीवनमा
अनि जिन्दगी र जीवनको अर्थ नियालेर हेर्न खोज्छु
तब लेखन गाह्रो हुन्छ
जीवनको अर्थ भनेको जिउनुभन्दा अरु धेरै छ सायद
त्यसैले नै होला लेखन गाह्रो छ
लेखेर पनि महसुस गर्न नसके
महसुस गरेर पनि लेख्न नसिके
जीवनका घुमाउरा बाटाहरुमा हिँड्न नसिके
लेखन गाह्रो छ ।