कथाहरूमध्ये सबैभन्दा पुरानो कथा हो यो
महाभारत भन्दा पुरानो
द्रौपदीको धोती भन्दा पहिले उस्को धोती च्यातिएको हो ।

हे पाञ्चाली तिम्रो उमेरमा उस्का सात पतिहरू थिए
उस्का बच्चाहरूको लागि पनि अपरिचित ।

आदम र इभ भन्दा पहिले नै उनिहरू बगैँचामा घुम्थे
स्याउ खानु अघि नै उनीहरूले एक अर्कालाई चुमेका थिए

धनु भाँच्न तयार थिए कयौँ
अपहरण गर्न तयार थिए कयौँ
राम र रावण त उस्ले
रामायण भन्दा युगौँ अघि देखेकी हो ।

शेखर आचार्य

ऊ सबै भन्दा पहिलो प्रेमिका हो
ऊ सबै भन्दा पहिलो पत्नी हो,
ऊ सबैभन्दा पहिलो विधुवा हो

उस्को मूर्ति हो
जस्लाई तिमी कुनै उत्खननमा भेट्छौ
र देवी ठान्छौ ।

ट्रोजनको युद्ध अघि पनि युद्ध भएथ्यो
उस्को सुन्दरताको लागि ।

ऊ जंगली आइमाई हो
ऊ कबिलाकी मुखिया हो

ऊ पहिलो राजाको, पहिलो आमा हो ।

ऊ पहिलो योनी हो
जसले लिङ्गलाई शान्त गरेथ्यो ।

ऊ मुहान हो, ऊ सागर हो
ऊ धरती हो, ऊ पहिलो बर्षात हो ।

ऊ प्रेमको पहिलो कारण हो ।

ऊ जिन्दगीको पहिलो कथा हो
कुनै पनि इतिहास भन्दा पुरानो ।

आज सम्मकै समयमा
ऊ थिई सबैभन्दा स्वत्रन्त देहकी स्वामीनी ।

यो त कथाहरूमध्ये सबैभन्दा पुरानो कथा हो

तर आज तिमी भनिरहेछौ
तिमीलाई मेरो नियमको इतर
नयाँ कथा लेख्न प्रतिबन्ध छ !
हे उच्छृङ्खल आइमाई !
तिमीलाई नयाँ कथा लेख्न प्रतिबन्ध छ !

शंखादेवी ।