श्वास हुन्जेल आस भन्छन्
मुटुभित्र ढुक्ढुकी छ र त
दुनियाँ छ ।

तर त्यही मुटु माझ पीडाको किला गढेपछि
धड्कनको पारो एकाएक चढेपछि
चयनले बाँच्न नसक्दो रहेछ मान्छे
अधुरो जिन्दगीको अपुरो कथा पढेपछि
विश्वासको सतीसाल ढलेपछि
पाउहरु त्यसै त्यसै लल्याकलुलुक गलेपछि
छातीभित्र मुटु धड्किरहे पनि
जीवन जिउनुको अर्थ नहुँदोरहेछ ।

ओम कुमारी बन्जारा रानाभाट

मायाको सागरजस्तो मुटु छ
त्यही मुटुभित्र व्यथित एउटा हृदय छ
त्यही हृदयभित्र
बाँच्ने जिजीविषा चुलिँदो छ
मुटु छ भन्दैमा मुटु कहाँ मुटु हुँदोरहेछ र !
मुटु सधैँ मुटु भइरहन त
यम नियम र प्रत्याहार चाँहिदोरहेछ
जप तप र साधना चाँहिदोरहेछ
पवित्र चिन्तनको देउरालीमा पो
ढुक्कले निदाउँदो रहेछ मुटु ।

छातीभित्र एक थान जिन्दगीजस्तो मुटु
धड्किरहेको छ र त
घाम छ जून छ तारा र झरना छन्
चराहरूका चिरबिर छन्
सपना छ विपना छ
आसा छ निरासा छ ।

मुटु नहुँदो हो त
कहाँ म हुन्थेँ ?
कहाँ अरु हुन्थे ?
देश कहाँ हुन्थ्यो ?
आमा कहाँ हुन्थिन् ।
शुद्ध होस् मुटु सबैको
गङ्गाको जलजस्तो
पवित्र होस् हृदय हाम्रो
बालसुलभ चन्चलताजस्तो !

सामाखुसी काठमाडौं