
स्खलित भैसकेको एउटा पुरानो बत्ती सदनमा बलि नै रहेको छ
र त लालटिनहरू आजकल बल्दैनन्
लालटिन नबल्नुमा कमी यहाँ मट्टितेल वा मसालको हैन
किनकि तीन लालहरू हिजै सति गइसके
सति जाँदै गर्दा उनले भनेका हुन्
– अब उपरान्त क्रान्ति कहिल्यै नबलोस्
– अब कसैले परिवर्तनको झुठा आश्वासनमा लिप्त भएर नृत्य नगरोस् ।

रूपक अधिकारी
सति जानुको अर्को कारण भनेको व्यवस्था हो
त्यो व्यवस्था जहाँ अग्ला टावर त छन्
तर भुइँमान्छे देख्नसक्ने दुरबिनको एक प्वालसम्म छैनन्
यदि देख्ने आँखा हुन्थ्यो भने लालटिनले साहस गर्थ्यो
तर मेरो अधिपतिलाई
आलिसान महलका खिड्कीबाट चुहिएको विलासिता मात्र नजर आउँछ
र पाउ तिनै ढोका भएर स्विस बैंकमा ठुल्ठुला विकास पठाउँछन्
निकास पनि त त्यही हो
हामीले चाहेको पनि त त्यही हो
सति जानेबेला भन्न नपाएका तमाम आक्रोशहरू
आजकल कमानबाट फुत्किएर हावासँगै बहन थालेका छन्
र त बल्न पाएका छैनन् लालहरू
र त तयार छौँ रेटिनलाई हामी सारा ह-लालहरू
र त नाचेका नाचै गर्छन् कछाड फुकाएर झोलाका द-लालहरू
र त अनुत्तरित छन् अझै सहादतका सवालहरू
चोकमा कुनै फुच्चे प्रकाशको शालिकमा मौनता गाढेर बसेका छन्
लालटिनका अवशेषहरू
कहिँ बारुदका छर्रा बदनभरी कुँदेर सल्काइरहेका छन्
अंशवण्डाको घडेरीसँगै आँसुका छाप्राहरू
र त चाप्राहरू लालटिन दफन गर्दैछन् पुँजीपति भान्साको थालमा
आउनुस् बिपि – कम्रेड भएर आउनुस्
एक थाल चुनावमा म एक भोट लिलाम गर्दैछु
आउनुस् एक छाक गरिबीमा म तपाईंको तीन पुस्ते बिमा गरिदिन्छु
आउनुस् भ्रष्टाचारको उत्तेजित लिङ्ग बोकी
मलाई करणीको तपाईंले दोष खानु पर्दैन
आउनुस् फेरि तपाईं स्खलित भएर सदनमा निर्धक्क पुरानो बत्ती बाल्न सक्नुहुनेछ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।
२४ कार्तिक २०८२, सोमबार 










