ए सुन्दरता
खुला बजारमा
किन आफू छु भन्दै देखाउँदै हिँड्छौ ?
साँच्ची तिमी कहिले सुन्दर थिएनौ ?
तर
सधैँ नयाँ खेलौना पाइरहने दुनियाँ
कुनै दिन हेर्नेछ तिमीलाई
जस्तै हेर्छ बूढो रुखलाई ।

डा. बिनोद ढकाल

ए मेरा प्यारा
सुन्दर त त्यो बूढो रुख पनि छ ।

ए यौवन
सपनाहरूले सङ्गालेको
तिम्रो सुन्दरता आज कहाँ हरायो ?
कहाँ गुप्त छ त्यो विरासत ?
त्यो विरासत
जो मन्दिर भन्दा सुन्दर थियो
कसैको विश्वास भन्दा सुन्दर थियो ।

ए मनोहर
तिमीले त केवल सानो कलश दिनु छ ।
कलशमा प्रेम भरिदिनु छ ।
जीवन भरिदिनु छ ।
अनि प्रौढ भविष्यले फलाइदिने छ
हाम्रो फूलबारी ।

ए लालित्य
पहिले तिमी आफू सुन्दर बन्नु छ
आफू भुलाएर
अरुलाई केवल
आर्शीबाद मात्र दिनु छ
शरीर भन्दा सुन्दर मन
घृणाले दिने क्षमा भन्दा सुन्दर हृदय
आमाको माया भन्दा गाढा माया ।
ओजिलो विरासत
अनि
अधिकार ।

डा बिनोद ढकाल (विधा)
धुलिखेल अस्पताल
फोन नंः  ९८४६७९७२८५