
यो हो लेखक काव्य साधक मिली साहित्य रच्ने थलो
खम्बा हो घरको म ठान्छु दरिलो छानो यही हो बलो ।
वाणी सुन्दर शब्द लयका आई बसून् ओष्ठमा
साझा बन्न सकोस् अटून् सबजना साहित्यको पोस्टमा ।।१।
जो मुल्याङ्कन गर्छ काव्य गरिमा पारेर उच्चाटन
मेरो काम यही रहोस् र म गरूँ नि:स्वार्थ काव्यार्चन ।
भन्दै नित्य अगाडि बढ्न सकियोस् हामी रहौँ जो जहाँ
साझा बन्न सकोस् अटून् सबजना साहित्यको पोस्टमा ।।२।

उत्तम विचार
हुन् प्यारा कविरत्न साधक सबै यो राष्ट्रका गौरव
लक्ष्मी हुन् सम बालक्रिष्ण अथवा प्यारा उनै माधव ।
पस्किन्छन् नव सिर्जना कवि यहीँ गर्छन् मिली साधना
साझा बन्न सकोस् अटून् सबजना साहित्यको पोस्टमा ।।३।
चिन्नेका किन छपियोस र कविता आउन् नयाँ सर्जक
खाँचो पर्छ सदा बढून् बढिरहून् साहित्यका पाठक ।
खुल्ला पुस्तक हौँ पढून् हरघडी आएर यो पृष्ठमा
साझा बन्न सकोस् अटून् सबजना साहित्यको पोस्टमा ।।४।
बन्ला कव्य कहाँ न चिन्तन कुनै होला न त्यो सिर्जना
भाषा मार्नु हुँदैन भन्छ कविले मासेर आफ्नोपना ।
यस्तो सोच सदा रहोस् हजुरमा मानिन्छ उत्कृष्टमा
साझा बन्न सकोस् अटून् सबजना साहित्यको पोस्टमा ।।५।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

