मणिराम मञ्जिल

तिमीले बिर्सदैमा इतिहास मेटिदैन
कुनै दिन सहर पसेर
गाउँ बिर्सिएका थियौ
अहिले प्रदेश पुगेर
आफ्नै आमालाई पनि बिर्सिरहेछौ
जुन माटोमा पहिलो पाइला टेक्यौ
त्यही माटोलाई बिर्सिएर
हराइरहेछौ प्रदेशको रङ्गिन दुनियाँमा
समुद्रको नुनिलो पानीमा पौड्दै गर्दा
सम्झिएनौ खहरे र आँधिखोलाको चिसो पानी
अग्ला टावरहरूलाई गगनचुम्बी देख्ने तिम्रो आँखाहरूले
सगरमाथाको उचाइ कहिल्यै देख्न सकेन

आजभोलि तिमी पीआरको सपना देख्छौ
ग्रिन कार्डको सपना देख्छौ
देख्छौ डि. भी. परेको र स्वदेश छोडेको सपना
हो तिमी सपनामा पनि परचक्रिको
आँगन ताकिरहेका हुन्छौ
तिम्रो सपनामा डाँफे कहिल्यै नाचेन
तिम्रो सपनामा हिमाल कहिल्यै हाँसेन
तिम्रो सपनामा गुराँस कहिल्यै मुस्कुराएन
तिमीले त सपनामा पनि कहिल्यै आफ्नी
आमा हाँसेको देखेनौ कहिल्यै रोएको देखेनौ
किनकि भौतिक सुखको लालचा र तुवाँलोले
तिमीले चिन्न छोडेका छौ आफ्नै आमाको अनुहार
देख्न छाडेका छौ हिमालको अनुपम सौन्दर्य

सुन्छु सहर भित्रको कोलाहलमा
रमाउने मिथ्या प्रयास गर्दै छौ रे
गौतम बुद्धको भूमिबाट टाढा पुगेर
प्रदेशका चिल्ला र फराकिला सडकहरूमा
तिमी मनलाग्दी हिँड्न सक्दैनौ
साँघुरै भएपनि स्वदेशका गोरेटोहरूमा
तिमी निर्बाध दगुर्न सक्छौ उफ्रन सक्छौ।

समृद्धिको यात्रा गर्दागर्दै
गोरेटोमै अलमलिएको छ देश
आऊ एउटा उचित मार्ग कोरौ
देशको समृद्धिका निम्ति
प्रदेशको भौतिक सुख भन्दा
कयौँ गुणा आनन्दमय छ स्वदेशको आफ्नो पन
प्रदेशको झिलिमिली भन्दा
धेरै उज्ज्वल छ स्वदेशको उर्वरता
यो उर्वर माटो जसले पर्खिरहेछ
तिम्रो परिश्रमी बाहुको बल
पर्खिरहेछ तिम्रो निधारबाट बग्ने
पसिनाको सिँचाइ
पर्खिरहेछ तिम्रो सृजनताको सुगन्ध
पराइको काख भन्दा धेरै प्यारो हुन्छ
आफ्नै आमाको कोमल स्पर्श ।

बागलुङ , हाल काठमाडौ