ओहो चेन्नई हाम्रो चेन्नई
वर्षौँ भएछ तिमीलाई नभेटेको
जस्ताको तस्तै रहेछन्
तिम्रो विशालता र आत्मीयपना
परिवर्तन भएछन्
सडक घर र अनुहारहरू ।

सङ्घर्षको बर्कोले सधैँ ओढिएर
आँखाभरि सपना लिएको केटो म
यहाँ आएर ताम्वी (भाइ) बनेँ
नेहरु स्ट्रिटमा दिनरात हिँड्दा हिँड्दा
बाटोले हृदय खोलेर बोल्थ्यो
एप्डी इरका ताम्वी (कस्तो छौ भाइ)
त्यो बेला नेहरू स्ट्रीटबाट निस्केर
सिए पढ्ने कार्यालय पुग्दा
सोच्थे मैले संसार जित्नु छ
नेपालमा धेरै ठूलो परिवर्तन ल्याउनु छ
राता मान्छेहरूको सपना देख्दै
महाअभियानका कविता लेख्दै
क्रान्तिकारी गीत लेखेर पढेर
ओहो साथी ! आहा त्यो जमाना !
अनमोल समय सृजना गरियो
जवानी र वैशमा महान सपना देखियो ।

टि. एन. आचार्य

आज बीस वर्ष पछि
अतीतको छाँयालाई पछ्याउँदै
म नेपालबाट चेन्नई पुग्छु
अनि मैलापुरबाट चुलाइमेडु हिँड्छु
पाइलासँगै मनको आकाश खुल्छ
म साँच्चै बच्चाझै भएछु
खुसी उत्तेजित आल्हादित
अनि म बाइस वर्षे ठिटो भएँ
उही केटो त्यही बेलाको ताम्बी ।

गम्लङ्ग अँगालो हाल्नुपर्ने बाटोले
आश्चर्यको आँखा उघारेर सोध्यो
तिमी टेकनाथ ताम्बी (भाइ) होइनौ ?
अहिले त अन्ना (दाजु) पो देखिएछौ
श्रीमती र बच्चासँग चिनजान भएपछि
अँगालो हालेर रोयो नेहरु स्ट्रिट
खुसीले आश्चर्यले र मायाले
अनि म भेट्न आएकोले
मैले हाँस्दै भने
जीवन सग्लो छ त्यसैले त भेट्न आएँ
मैले कहिल्यै नबिर्सिएको कुरा गरेँ
छोरीको नाम (कावेरी) को कारण खोलेँ
यहाँको माटोको बाटोको
अनि प्रेमिल तमिल आँखाहरूको
निम्तो पाँए फेरि फेरि आउने ।

चेन्नईको पनि समय परिवर्तन भएछ
ताम्बी (भाइ) हरु अन्ना (दाजु) भएछन्
अन्नाहरु अप्पा (बुबा बूढा) भएछन्
केही अप्पाहरुले संसार छोडेछन्
कहिल्यै नफर्कने गरी
मन साटियो माया साटियो
अनि जीवनभरि नबिर्सने शर्तमा
म बूढो हुँदा पनि फर्कने प्रतिज्ञामा
बाटाभरि विस्मृत आँखा तेर्साउँदै
जीवनको यात्रा फेरि शुरु भयो
निरन्तर निरन्तर !