जुन दिन हो पहिलोचोटि तिमीले ऐना हेरेर मक्ख परेकी
त्यही दिन पनि हो ऐनाले मुसु-मुसु हाँस्नु थालेको ।

जुन दिन हो पहिलोचोटि तिमीले ऐना हेरेर बेस्सरी लजाएकी
त्यही दिन पनि हो ऐनाले एकोहोरेर तिमीलाई हेर्नु थालेको ।

जुन दिन हो पहिलोचोटि तिमीले ऐना हेरेर जिब्रो टोक्यौ ओठ लेब्रायौ
कम्मर मच्कायौ
त्यही दिनदेखि हो ऐनालाई आशक्तिले साह्रो पार्नु थालेको
तिमीसित नजिस्किन्जेल
तिमीलाई नसुमसुमाउन्जेल
भोक तिर्खा निन्द्रा लाग्नु छोडेको ।

निर्मल आग्रह

तबदेखि न हो ऐनाको आँखा रातोको रातै छ
अर्थात कुनै अतृप्त भोक जागेको छ त्यस्लाई ।

अन्तिमचोटि जुन दिन
तिमीले निसंकोच आफ्नु शरीरबाट गुन्यूँ चोली फरिया शिरबन्दी
जम्मै उतारेर
आफैलाई निर्वस्त्र पारेकी हौ
त्यही दिन देखि न हो ऐना बाहिर फुत्फुत गर्दै निक्लेको हो
घिनैलाग्दा आँखाहरु

तिम्रो सर्वस्वलाई हिलो-हिलो पारेको
तिम्रो तन
तिम्रो मन
तिम्रो सर्वस्व चोटै-चोट पारिदिएको ।

अहिले तिम्रो निधारमा
एउटा अमर्यादित चिन्हको छाप लगाइदिएको छ
एउटा अश्लिल टयाटु खोपिएको छ
एउटा अमेट उपनाम टाँस्सिएको छ
तिमी जहाँ जान्छौ जता जान्छौ तिमीलाई हेर्ने आँखाहरुमा हिलै हुन्छ ।