विनोद भौकाजी

सत्यमोहन जोशी

 

आज फेरि एकपटक घाटबाट धुवाँ आएको छ
धुवाँ सिधै आकाश ताकेर आफ्नो गन्तव्य ताकी रहेछ
मेरो घर लिखुकै किनारमा सानो बजार बीचैमा छ
त्यहाँ थुप्रै दाहसंस्कार भएको प्रत्यक्ष देखेको छु
हामी बच्चा हुँदा बजारका ठूलाबडाले भन्थे‑
“जलिरहेको मानिस सिधै स्वर्ग पुग्ने भो
हेर त ! धुवाँ सिधै माथि उडिरहेछ
जीवनमा थुप्रै पुण्य कमाउने काम गरेका रहेछन्
धन्य हो !”

विनोद भौकाजी

नदी किनारमा कति दिवङ्गतको बिदाई दृश्य देखेँ
कुनै लेखाजोखा छैन
संवेदनशील मानव भएको हुनाले
एकाध परिचित बाहेकको मृत्युमा गहिरो बिस्मात भएन
आज भने म मात्र होइन असंख्य उदास छन्
कला, संस्कृति र साहित्यले छाएको हाम्रो समाजले अतुलनीय सांस्कृतिक तथा वाङ्गमय स्रष्टा गुमाएको दिन
शताब्दीभन्दा बढी जीवन्त बाँचेर शान्त भएका
शाश्वत “सत्य”ले मृत्युवरण गरेको धमिलो दिन

म आज भने लिखुभन्दा अर्कै घाट छेउ शोकमग्न छु
बिरक्तिएर आकाशतिर नजर दौडाइरहेछु
मेरो एउटै अपेक्षा-
बच्चामा सुनेको विश्वासको परीक्षण
हाम्रो “सत्य” सोझै स्वर्ग पुग्ने हुन् या होइनन्
के घाटको धुवाँ सिधै उडिरहेछ ?
मन छट्पटाइरहेछ
संस्कृति र सहित्य सेवामा अविचलित अग्लो व्यक्तित्वलाई
दीर्घ शान्तिका लागि परम शक्ति छेवै निवास मिल्ला ?

बिस्तारै घाटको धुँवा अग्लिएको देख्दैछु
“सत्य”को यात्राले शनै: शनै: गति लिँदै उड्दैछ
घाटमा उदास स्वरहरूको कल्याङमल्याङ व्याप्त छ जीवनभरको बेफुर्सदीलाई आराम गर्न दिए हुन्थ्यो नि
सबैले चुपचाप साँधेर
लौ ! नभन्दै धुवाँ त सिधै तँछाडमछाड आकाश यात्रामा छ
अझ यसो भनौँ-
भूमिपुत्रलाई लिएर परमधामको बाटो सोझ्याइरहेछ
म ढुक्क भएँ भूमिपुत्रको जीवन धन्य भयो

तथापि मेरो मन मस्तिष्कमा एउटै प्रश्न घुमिरहेछ-
के गाँउका पाकाहरूको विश्वास सत्य हो ?
साँच्चिकै यस्तो विश्वासलाई अङ्गाली राखौँ ?

आ ! अरु बेला अन्यलाई जेसुकै होस्
परन्तु
शताब्दी कटेका सर्वपूज्य वरद्पुत्र हाम्रा “सत्य”
हेर्नुहोस् त निष्कण्टक बैकुण्ठ पुगे।