तारा तिवारी

 

तारा तिवारी

वल्ला घरे, पल्ला घरे, ए साइँला दाइ
झट्टै माथिल्ला गाम उक्लिनु परो
यिनै स्वर, अहिले त्यो डाँडापाखालाई
अत्यास लाग्दो छ

चराचुरुङ्गी, पहिलेझैँ
अहिले चिरबिराउनै छाडे
त्यो ढुङ्गे कुवाको पानीले
पहिलेझैँ अहिले तिर्खा मेट्टाउनै बिर्सिएछ

घाँसको भारी, मेला, अर्मपर्म गर्ने
उकालीओराली, आजभोलि झन् झन्
आफ्नै बाटो बिर्सिदै गएछ

सित्तल, चिसो हाबा दिने भन्ज्याङको वरपीपल
जसले बर्सेनि, नयाँ पालुवा दिन्थ्यो
आजभोलि ऊ पनि बूढो हुँदैरहेछ

छहारीमुनि हातले सफा गर्दै थचक्क
बस्ने त्यो चिल्ला ढुङ्गा, तीन पत्रे
झारसँग सङ्घर्ष गर्दै रहेछ

एकछिन, म पनि त्यही तीनपत्रे झार
उखाल्दै, बूढो भएको वरपीपलमुनि
बस्दै उसलाई सहारा दिएँ र सोच्दै थिएँ

अब फेरि पहिलेझैँ, यी डाँडापाखाले
खोजेको साइँला दाइका पुस्ता र उनका गामले
त्यो माटोसँग लडबडिन आउलान् त ?

ओराली लाग्दैगर्दा, यी मेरा पाइतलाले
आभास दिँदै थियो, अब फेरि मलाई यहाँको
माटो टेक्ने सौभाग्य मिल्ला त ?

पहिले दरिला र खँदिला मेरा पाउहरू
आज त्यही ओरालीमा थरथर काँप्ने भएछ
मलाई पनि सहरका हावापानीले छोएछ कि क्या हो ?

हुन त म पनि त्यो गामको
त्यस दिनको पाहुना न थिएँ !

रामपुर-५, पाल्पा