मलाई के को डर ?
बिचौलियाहरू साथी भएदेखि त
मेरो खाजा खाने थलो नी पाँच तारे होटेल भएको छ
ती जनता भोको होस् कि आधा पेट ?
भँुडी बढेर मेरो चैं व्यायाम गर्ने बेला भएको छ
तलब सँगसँगै टेबल मुनिबाट पनि आएकै छ
सरकारी गाडीलाई अघि नै बोलाएको
ओहो ! जिमखाना जान पनि ढिला भैसकेछ

मलाई के को डर ?
मैले त खोला बेचेर काठमाडौंमा बूढीको नाममा
पोखरामा सालीको नाममा घर ठडाइसके
भुकम्प आओस् कि बाढी !
कोष स्थापना गरेर टन्नै कमाइसके
ती जनता टहरामा बसोस् कि खेतको आलीमा ?
खोला मात्र होइन बालुवा बेचेर भएनी
साथीलाई घर बनाइदिसके

मलाई के को डर ?
राजालाई फालेर महाराजा भएको म
हजारौंलाई मारेर सत्तामा आएको म
चुनावमा भोट हाल्ने टाउके गनिसके
गाह्रोसाह्रो परे ठूला टाउके चिनिसके
भाइ दिदी इष्टमित्र सबलाई मन्त्री बनाइसके
मावली रिसाउलान् भनेर वडा प्रमुख बनाइसके
ती जनता बेरोजगार होस् कि कोटाको लागि लडिरहोस्
मेरा चिने जानेका चैं सबै बढुवा भैसके

मलाई के को डर ?
म त नाकाबाट
सुन मात्र होइन सीमारेखा नै गायब पार्दिन्छु
जाबो ह्याछिउँ आउँदा नि सिङ्गापुर उडिदिन्छु
बैंकब्यालेन्स् मात्र किन जीवन वीमा पनि उतै गर्दिन्छु
ती जनता लामखुट्टेले मरोस् कि कोरोनाले ?
प्लेन चढेर आउनेलाई मात्र क्वारेन्टाइन बनाइदिन्छु
किनकी म !
समृद्ध नेपाल बनाउन दिनरात खटिरहेछु ।