शान्तिका सेता परेवा उडाउने यी हातहरूमा
चार कुने ती हरियै भएका हरियाली लिएर
लामबद्ध भएको छु
ती विशाल येन्त्रका पर्खाइमा ।

आफ्नै पाउका चालले टक टक टक टक गरि
वीर धून बजाउँदै गर्दा
नसुने झँै हिँड्नु परेको छ
ती सेता विमानका अनकन्टार लक्षतिर ।

त्यो परबाट आएको विमान
चडेर जाने परदेश कस्तो होला हगि ?
जहाँ पराइभन्दा पनि आफ्नैदेखि डराउनु पर्ने ?

आमा

विमानवाट झरेर विधाताको वि पनि भन्न नपाउँदै
विमानस्थलमै विधान गठन गरेर
आफ्नाले देशको हाल सोधे भने ?

माफ गर है ! आमा
बिचल्लीमा परेका ती तिम्रा सन्देशहरू
परका ती देशमा छाडे भने ।

मैले लगेका ती थोत्रा कपडाको कता कता लगेको धूलो
यताउता हेर्दै

कालापानीको धूलो त आफ्नै भयो होला है ?
भनेर सोधे भने ?

केवल आँखा बोल्नेछ

माफ गर है लिपुलेक
माफ गर है कालापानी
नालापानीका बलभद्र जस्ता
देशभक्तिका भक्तिथापाजस्ता
उदाउन छाडिसके खुकुरी धार्ने बहादुरजस्ता ।

माफ गर है लिपुलेक
माफ गर है कालापानी
नालापानीका बलभद्र जस्ता
देशभक्तिका भक्तिथापा जस्ता
आश्चर्य ! फेसबुकमै विरोध गर्ने योद्धा कस्ता ?

प्लास्टिकका भात खाने तिनीहरूले
धानका भाउ सोधे भने ?

केवल मन चिच्याउने छन्
राजधानीमा बसेर राज गर्ने राजनेताले !
कसरी बुज्नेहुन , राजमाती चामलका भाउहरू ?

स्याँ स्याँ गर्दै ती बोल्नै नसक्ने काकाले
बाबु ! निर्मलाले न्याय पाहिन होला है ?
सोधे भने ?
माफ गर है निर्मला कसरी भनौ
तिम्रो न्याय लेख्दै गर्दा
न्यायधीशको न्याय लेख्ने कलम नै भाच्यो भनेर ?

अरु सम्पूर्ण प्रश्नका जवाफ हुनेछन्
केवल मेरा स्तव्ध ओठहरू

किनकि
कसरी भनुन मेरा औंलाहरूले
तिमीले हात चलायका ती खेतहरूमा
आज अर्कैले खुट्टा चलाउँदै छ भनेर

कसरी बुझाउन यी आँखाहरूले
नेपालआमाका गहभरी रहेका ती तिम्रा सम्झनाहरू ।