आज, सीमा नाका खुल्यो
घर फर्किने हुटिहुटी चलेको बखत मैले बिर्सिदिएँ
महिनौसम्म सिमानामा अलपत्र पर्नुको पीडा
(अ)नागरिक हुनुको वेवास्ता
सरकारी रवैया सुदूरको म गरिबमाथि
यसको बावजुद पनि
स्वःस्फूर्त चलायमान तन मन
स्वदेश फिर्ताको झटपट हुण्डरी नाकामा
उर्लेको जनसागरमा मेरो पदचाप बिलाउँछ ।
दश गज्जाको मार्च पाससँगै
सरहद फैलिन्छ अँगालोमा
स्पर्श विभोर छातीमा राष्ट्र गौरवको ढोल बज्छ ।
झिना झाम्टा बोकेर सर्तक
म विश्व हल्लाउने कोरोनाको जाँचमा परेड खेल्छु ।
दायाँ घुम
बायाँ घुम
सर्तक बस्
सरकार भन्छ क्वारेन्टाइन बस्
क्वारेन्टाइनको कहाली कैरन सुन्दैछु
पहिलो आवश्यत्ता मान्छेको
सामान्य बन्दोबस्ती छैन रे !
त्यसैले जान्न म क्वारेन्टाइन
गाँस, बास र कपासकै लागि
पूर्खाहरूको कान्छो पुस्ता
बाको काँध थाप्नु मेरो दायित्व
दक्षिणको नाका हुँदै मजदुरी गर्न
म दिल्ली पुगेको थिएँ
अलिकति पुगिसरी भएको भए
सायद, म पनि
हवाइजहाजको बाटो हुँदै खाडी
यूरोप वा अमेरिकाबाट फर्कन्थेँ होला
सरकार, नतमस्तक भएर
मलाइ पनि व्यवस्थित क्वारेन्टिनमा राख्न
एयरर्पोट लिन आउँथ्यो होला
चार छाकको मेजमानी
चिसो छिँडीमाथि पराल, गुन्द्री या फोम ओच्छाएर
भत्केको गोठ, टहरा, यात्रु प्रतिक्षालयमा
गुन्द्रुक खाँदिए जसरी
ती त सब परका कुरा
स्टार होटलको चिटिक्क सफा कोठामा
लचकदार बेडको बाक्लो गद्धामाथि
नरम तकिया ओच्छाएर
शान र शौक्तले म निर्धक्क सुत्दथे
मेरो आसपास, मलाई जिउँदै टोक्न आउने
लामखुट्टे, सर्प, बिच्छी, उडुस, झिँगाहरू दिनरात न भनेर भन्किन पनि पाँउदैन्थे
किनभने, मैले भारू हैन
रेमिट्यान्समा डलर, क्रोनर, रियाल पठाएको हो नि !
तर, बिडम्बना विधाताले मेरो भाग्यमा लेखि पठाएन
बरू उसले
गरिबी लेखिदियो
भोक लेखिदियो
अशिक्षित लेखिदियो
विकट वञ्जर लेखिदियो
दूरदराज पिच्छडिएको सुदूर लेखिदियो
माटो सुगन्धले हरर उर्वरा
उसको र मेरो रगत पसिनाले लुछुप्पै पारेर
गह्रा अनि खेत फाँट सिंचित गरेकै हो
फेरि, ऊ माथिको
म तलको
बीचमा गहिरो खाडल किन ?
ऊ ठूलो
म सानो
ऊ धनी
म गरिब
ऊ काठमाडौं सहरको
म विकट गाँउको
ऊ एयरर्पोटबाट आएको
म दक्षिणको नाकाबाट आएकै भरमा भेदभाव किन ?
त्यसैले, सरकार म क्वारेन्टाइन जान्न
त्यहाँ सरकारको भाषण गर्जिन्छ
त्यहाँ सरकारको घोर पक्षपात देखिन्छ
म मजदुर (हरू) दक्षिणको नाकामा
रोग, भोक र शोकले थला परेर मरिरहँदा
ममताको मल्हम हैन
म सौतेनी आमाको सन्तान तह लगाउन सेना ठडिन्छ
कालापानी, लिपुलेक, लिम्पियाधुरा रोइरहँदा
निगरानी मलाई हुन्छ
जाउँ भने नि क्वारेन्टाइन
न जाउँ भने नि क्वारेन्टाइन
सेवा न सुविधा अस्तव्यस्त भद्रगोल क्वारेन्टिन
मान्छे मार्न खोलेको कारखाना जस्तो लाग्छ
जाँच न पडताल मान्छेमात्र कोचेर के गर्छौ सरकार ?
भूसको आगोसरी कोरोनासँगै
अन्य रोग सल्कियो भने
म सकुशल घर फर्किन सक्छु सरकार ?
त्यसैले म जान्न क्वारेनटाइन
क्वारेन्टाइन मेरो मृत्यू मलाई व्यग्र पर्खिरहेको छ ।



यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।

