शोभा शरभ

रहरका रङ्गिन उमङ्ग बोकेर
संघारमा आइपुगेका छन्
फेरि पनि चाडपर्वहरू
कलेटी परेका ओठहरूमा
सक्दैनन् मुस्कान फिजाउँन ,
कहरको पीडामा
अभावको कुटुरो बोकेर
झुपडीमा आउछन्
व्यर्थै, मन बिझाउँन।

पर्वका बहानामा महिनौ अघिदेखि
रेस्टुराँका टेबुलमा खोलिने बियरका बोतल
आज पनी खुल्छन् उसैगरी
सितनका नाममा अनेकौं व्यञ्जन र परिकारसँग
सभ्रान्तका बैठककोठामा ।
प्रकोपले पनि त गरेकै छ नि पक्षपात
जुठा प्लेट उठाउने हातहरू
रोग भन्दा बढी भोक बुझ्छन्
त्यसैले त खटेकै छन्
सन्तानको लागि चारो जुटाउन।

मीठोको परिभाषा त जिब्रोले हैन
भोकले निर्धारण गर्ने रहेछ
हिजो साहुको छोरोले
नमीठो भनेर हातै नलगाएको
मासु भातमा
आज उनकी पुतली
दशैं आए जस्तै भयो भन्दै
मख्ख छे पेटको आगो बुझाउन।

महान पर्व,
परिवार आफन्त, इश्टमित्र
जमघट रमाइलो , स्वादिस्ट परिकार
सन्तानको मुहारको खुसी
पतिको चाहाना
बिदाको सदुपयोग
ओठओठमा फुलेको हाँसो
गलेको शरीर
डङ्ग्रङग लड्यो भान्छा कोठामा
बिर्सेर आफ्नै घाँटी भिजाउन

दिन रातको मेहनत
घर र अफिस
भुलेर दुनियाँ
कर्ममा लिन
वर्षभरिको आशा
मुठ्ठीभरि वोनश
अङ्गालोभरिका आवश्यकता
फेरि पनि आफ्नो रहर
अर्को साललाई सारेर
खै सकिन्छ र परिवार रिझाउँन ?

संस्कारले सिकायो सम्मान गर
मनको मर्जी माया बाँड
समाज सोच
परम्परा धान
धर्म कर्म चाड पर्व
किनकी तिमी आमा
तिमी छोरी
पत्नि बुहारी
बहुरुप धान्ने
तिमी सहचारी
आउँदैन कोही
पहिले तिमी
बन भनी सिकाउन
पहिचान गरौँ
आफै भित्र हराएको मलाई
आफूखुसी रहेर सिकौँ
सबैलाइ खुसी बनाउनलाई।