बालकृष्ण गजुरेल

 

मेरो आँखाले कहिलेकाहीँ
प्रधान न्यायधीश बन्न खोज्छ
बिक्छ भ्रम र पैसामा
सुनाउँछ आफ्नो फैसला
विश्वमा काहीँ नभएको नजिर स्थापित गरेर
बिकेका यी दोषी आँखालाई
महाअभियोग लाग्छ एक्कासी
कैद हुन्छ आँखिभौँ भित्र
आफ्नै घरमा नजरबन्द लागे झैँ ।

मेरो आँखाले कहिलेकाहीँ
मन्त्री तथा प्रधानमन्त्री बन्न खोज्छ
थुपार्छ अरबौँ सम्पत्तिहरु
आफ्नो बंश सर्वनाश गर्नलाई
कुनै दिन मेरो अन्त्य हुन्छ भनेर
सायद, भुसुक्कै बिर्स्यो होला
आफ्ना सन्तानहरुलाई कहिल्यै पनि
श्रमको महत्व बुझाउन सकेन होला
अत: भ्रम पाल्छ काला धनहरुको
भ्रष्टचार तथा सेटिङ्गहरुको
आँखामा फूलो परेपछि
पूर्णीमा पनि कालरात्री लाग्दछ
घुस तथा तस्करीहरुको कारणले ।

मेरो आँखाले कहिलेकाहीँ
राष्ट्रपति बन्न खोज्छ
महाराजा भन्दा ठालु बनेर
ढुलमुलिँदै राज सिंहासन खोज्छ
साम्राज्यका बडे-बडे सम्राट जस्तै
उठीउठी निदारमा टीका टाँस्छ
नोकर, चाकर तथा दासहरु सम्झेर
भुल्छ, ती लोकतन्त्र पहिलाका दिनहरु
हाँसी हाँसी गोली खाने सहिदहरु
ती प्रतिबध्दता तथा जन चाहनाहरु
भ्रम पाल्ने यी मेरा आँखाले
देशको अस्तित्व र दृश्य नियाल्दा
लाग्दैन, म जनताबाट आएको हुँ ।
जनताको प्रतिनिधि पात्र हुँ ।

मेरो आँखाले कहिलेकाहीँ
सेना बन्न खोज्छ
र बेलाबेला प्रहरी बन्न खोज्छ ।
हलीहरुको आदेश मान्दै
जोत्छ सीमाना तथा सीमारेखाहरु
खुला छोडिदिन्छ पराइको लागि
आफ्नै अघिल्तिर प्रायजसो बुट बजार्न
न देशको माटो जोगाउँछ
न वीरहरुको रगतका टाटो जोगाउँछ
न जनतालाई शान्ति सुरक्षा दिन सक्छ
न देशको प्रत्याभूति दिन सक्छ
उल्टै बिक्छ, बेला-बेला हड्डीहरुमा
राजनीति, बेइमानी र कवड्डीहरुमा

भ्रममा उछालिने यी आँखा भन्दा
श्रम गर्ने मेहनती हातहरु ठीक रहेछ ।
जीउँदो नेपाली को आत्मसम्मानमा
उकाली, ओराली, भञ्ज्याङ्ग र चौतारी धाउने
पैतालाका ती पदचाप ठीक रहेछ ।

विदेशीको पावरवाला चश्माले
केही समय म ठम्याउँला राम्रैसँग
मन्त्री जस्तै, प्रधानमन्त्री जस्तै
राष्ट्र प्रमुख तथा राष्ट्रपति जस्तै
सेना जस्तै, प्रहरी जस्तै
न्याय दिने प्रधानन्यायधीश जस्तै
तर, दरिद्रताको कचौरा बोकेर
सगरमाथा बेच्न नपरोस्
बरु.. म हुत्याइदिन्छु यी आँखाहरु
गाउँ सहरका जनताहरुको अगाडि
फेरि पनि चुनावमा म जस्तै
आफैँ बेच्ने अर्को भुल नगरेस् ।

बालकृष्ण गजुरेल
हेलम्बु-६, सिन्धुपाल्चोक