बिक्रम पौडेल

मेरो देशमा चुनाव लाग्दै छ रे
नारा जुलुसको भीडमा युवा युवती हराउँदै छन् रे
बाक्लो भीडमा देशको मुहार फेर्ने प्रतिवद्धता जनाउँदै छन् रे

आमा भन्नु हुन्छ यिनीहरु पोहोर पनि आएका थिए फूलमाला लगाएका थिए देशको मुहार फेर्छौं भनेका थिए
देशको मुहार त त्यस्तै हो यिनको मुहार फेरिएछ
माकुराको जालोझै मेरो देश त अभावमा घेरिएछ

पद र प्रतिष्ठाको मोह जागेछ
मेरो देशको अर्थतन्त्र त ओरालो पो लागेछ

मुलुकमा रोजगारीको सिर्जना मेटिएछ
परदेश पठाउने गतिलो बाहाना भेटिएछ
विश्व मानचित्रमा यस्तो गाथा कोरिदै छ रे
वीर गोर्खालीको देश मेटिएर गुलामको देश लेखिँदै छ रे
देश त किनारा लाग्न खोज्दै छ रे
सूर्यचन्द्र ध्वजा फाट्न खोज्दै छ रे

मातृ थलो छाडेर कर्म थलो परदेश रोज्नेलाई
ज्यानको बलि दिएर रगतका धर्सा हरुले सीमाना कोर्नेहरुलाई
म खै के भनूँ

अब आफै जाग्नू छ
देश बनाउने बाटोमा लाग्नू छ
अग्लो सगरमाथाझै देशको शिर उचालिएको हेर्नू छ
विश्व सामु गुमेको इज्वत फर्काउनू छ
मरूभूमिमा फस्न खोज्दै गरेको देशलाई किनारा लगाउनू छ
एकैसाथ हातमा हात जोडेर देशको गितगाउँदै नाच्नू छ
नेपाल आमा हाँसेको हेर्नू छ
वीर सहिदसँग आशीर्वाद लिनू छ
अबत ढिला भो ! आजै बाट देश बनाउने बाटोमा लाग्नू छ ।