१. कान
विक्रम सुब्बा
अपहेलित कामरेड
आफ्नै पार्टीको निँदालमा
झुन्डि मरेको ब्रेकिङ न्युज सुन्न छोडिसकेँ
एक व्यापारीले दरबारीया सम्गलरबारे
बाचन गरेको खुराफाती रामायण सुन्न छोडिसकेँ
एक न्यायमूर्तिले कुनै क्रान्तिकारीलाई सुनाएको
फाँसीको चाणक्य फैसला सुन्न छोडिसकेँ
फिरंगीहरूले तैयार गरेको
यो मुलुकको पार्टपूर्जा बदल्ने सम्झौता
पाँचतारे ह्वस्की टेबलमा सरकारले
दस्तखत गरेको खबर सुन्न छोडिसकेँ
तर, आफ्नो कान कतै छोडेको छैन
किनभने, एकदिन मैले पनि
मेरा देशबासीको विजय गीत सुन्नुछ !
***
२. गाउँको गोरेटो
मन्जुल
मलाई गाउँको सानो गोरेटो भनेर नहेप्नू
म भीरमा पनि लान्छु, खेतमा पनि
म बस्तीमा पनि लान्छु, एकान्तमा पनि
जहाँ गोरेटो छैन, म त्यहाँ पनि लान्छु ।
जहाँ गोरेटो छ, मूलबाटो छ
म त्यहीँ बिलाउँछु पनि
यस्तो बेला म मान्छेको हृदयमा हिँड्छु ।
कहिले रात सुत्छ मेरो किनारामा कहिले दिन
कहिले साँझ सुत्छ मेरो किनारामा कहिले बिहान
कहिले कुहिरो सुत्छ, कहिले शीत सुत्छ
कहिले घाम सुत्छ, मेरो किनारामा कहिले जून
कहिले ताराहरू सुत्छन् ।
मान्छेको हृदयबाट जन्मेको
गीत भएर पनि हिँड्छु म कहिलेकाहीँ
मलाई गाउँको सानो गोरेटो भनेर नहेप्नू ।
***
३. देख्दैछु
दुर्गालाल श्रेष्ठ
देख्छु
चरा उड्दै छ संवेग
खोला कुद्दै छ
तृणतक आफ्नो सङ्घर्षैमा
अविरल जुट्दै छ
जति सुनामी हुँडुली आओस्
जति गरोस् संहार
संसार त झन नित्य नवल भै
उठ्दै-उठ्दै छ !
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।