अर्जुन उप्रेती (अप्रतिम)

मलाई डोऱ्याइरहेको हुन्छ हरपल
यी अन्तहीन चाहनाहरूले
मलाई पल पल सचेत गराइरहन्छ
छातीभित्र उकुस मुकुस कामनाहरूले
एकैपल चैनले बस्न सम्म दिदैन
अजिङ्गरको जस्तो मुख बाइरहेको हुन्छ
समस्यारूपी भूतहरूले।
ती भूतहरूले मलाई ढङ्गले
सोच्न नै कहिले दिए !
जिउँनु छ जिउँदैछु नि
समस्यै समस्याले भरिएको
हेमानको भारीले थिच्चिएर !
म अवरूद्ध छु केही मात्रामा दायबद्ध पनि छु
किनकी यी बाध्यताहरू
कसैले म माथि जबर्जस्ती थोपरेको हैन
मेरै निर्बुद्धिताले मैले आफैँ
जानी जानी ओगटेका
अब यी समस्याहरू नछिमली
मेरो निस्तार कहाँ ?
तर के गरूँ ! कसो गरूँ म !
कति जेलिएको बाटोमा
खुट्टा टेकाएछु मैँले !
माथि आकाश छेड्दो भीर
तल कहालीलाग्दो खाडल !
अहिले थक थक लागिरहेछ
अहिले सुद्धि फर्केको छ
तर यो शरीर यो मनभित्र
कालसर्पझैँ फणा फिँजाई बसेका
यी हरेक रिपूको आक्टोपस बाट
सर्लक्क त्यो निर्धो त्यो निर्मल मन
कसरी उद्धार गरूँ ?
गल्ती धेरै गरेँ !
त्यसको धेरै दण्ड पनि तिरेँ
भो अब उसो गल्ती गर्ने छैन
सत्य सत्य वाचा वाचा
मलाई यो कहालीलाग्दो खाडलबाट
निस्कने चाँजो देखाऊ
म जान्दछु तिम्रो हृदय विशाल छ
सबलाई अटाएका छौ
सबलाई बचाएका छौ
बिन्ती छ ! म यसै त्यान्द्रो भै सक्याछु
हुन त मेरो हैसियतनै के पो रहेको छ र !
तर पनि त्यो तिमीले दिएको थाती भने
जोगाएकै छु
त्यही अनमोल थातीकै कसम !
मलाई तिमीमा समाऊ
मलाई पत्कर हुनबाट बचाऊ