१. ऊ बद्लिए पछि
कसैले भन्यो
गाउँ सहर बदलिरहेछ
संस्कृति हराएर जानेछ।
कसैले भन्यो
पृथ्वीको मौसम बदलिरहेछ
सम्पूर्ण पृथ्वीको नाश हुनेछ।
मेरो मनले भन्यो
ऊ बद्लिए पछि
सबै कुरा त सिद्धिएर गयो
अब तँलाई के को चिन्ता ?
के रहनेछ के सिद्धिनेछ
यी सबै त
जिउँदा मानिसहरूका चिन्तामात्र हुन् ।
****
२. तुलसी
मेरो के छ र
म त मानिस हुँ
आफूलाई काममा होमिदिन्छु
अनि
भुलिन्छु सबै स्मृतिहरू
यहाँसम्म कि आफूलाई पनि
तर त्यस तुलसीलाई कसरी सम्झाउँ
जो उभिएकी छे घरको ढोकाको ठीक अघिल्तिर
प्रत्येक पल आँखाहरूमा एउटा आशा लिएर
बाटो हेर्छे आज पनि त्यस व्यक्तिको
जसले बिहान हुने बित्तिकै जलको अर्घ्य दिने गर्थी
साँझपख उसको फेदमा दियो जलाउँथी
ताकी भर्न सकोस् सम्बन्धहरूमा पनि ठीक त्यही न्यानोपन
फिजियोस् घरका कुना कुनामा प्रकाश अनि मधुर मुस्कान।
****
३. याद छ तिमीलाई
याद छ तिमीलाई
कलेजमा एउटा केटोले कुराकानी गर्दा छोएको थियो तिमीलाई
हाँसेर स्वागत त गर्न सकेनौ तर झर्को पनि मानेका थिएनौ तिमीले
याद छ तिमीलाई
तीन दिनसम्म म तिमीसँग बोल्न सकिनँ
याद छ तिमीलाई
ती दिनहरूमै कुराकानी गर्दा एउटी केटीले छोएकी थिई मलाई
म हाँसेको त थिइनँ तर रिस पनि देखाएको थिइनँ मैले
याद छ तिमीलाई
त्यसपछि तिन दिनसम्म कलेज आएनौ तिमी
अनि
जब आयौ मेरो अङ्गालोमा धेरै बेरसम्म रोएकी थियौ तिमी
वर्षौँपछि जब धेरै टाढा छौँ लाग्छ पिरती थियो त्यो
तिमीलाई के लाग्छ ?
याद छ तिमीलाई
त्यसबेला हामी दुवैले यस आशयलाई नकारेका थियौँ।
****
४. अनौठो घबराहट
वर्षौँपछि आज ऊ सित भेट भयो
आफ्नो श्रीमानसित थिई ऊ
दुवैको परिचय साटासाट पछि
मलाई सोधी उसले माया पिरती गास्यौ
कि अहिले पनि एक्लै घुमिरहेछौ
मैले भने माया पिरतीको लायक छुइनँ म
खित्का छोड्दै हाँसी ऊ
तब मैले भने साँच्चै आज पनि म
भ्रष्टाचार गर्न सक्दिनँ
सक्षम छुइनँ ठूलो घर बनाउन
महङ्गो गाडी किन्न
उसको नजर झुकेको थियो
अनि जब उसले
आँखा उघारेर हेरी
उसका श्रीमानका अनुहारमा
अनौठो घबराहट व्याप्त थियो।
अनुवादः बिलोक शर्मा
****
परिचयः
डा. फतेह सिंह भाटी, जोधपुर, राजस्थानका साहित्यकार हुन्। डा. एस. एन. मेडिकल कलेज, जोधपुरमा सीनियर प्रोफेसरको रूपमा कार्यरत डा. भाटीका अनेकौँ रचनाहरू कथादेश, दैनिक भास्कर, राजस्थान पत्रिकासहित देश-विदेशका थुप्रै पत्र-पत्रिकाहरूमा प्रकाशित छन्। उनका एउटा कथा सङ्ग्रह, एउटा उपन्यास अनि दुईवटा संयुक्त कथा सङ्ग्रहहरू प्रकाशित छन्। उनी ‘मीरा भाषा सम्मान’ (२०२१) द्वारा सम्मानित भएका छन्।
बिलोक शर्माः
बिलोक शर्मा कवि, अनुवादक अनि सम्पादकको रूपमा परिचित छन्। उनका मौलिक कविता सङ्ग्रह ‘समयाभास’ (सन् २०१९) उनि ‘कबितार रोटेपिङ’ (भारतीय नेपाली कविताहरूका बाङ्ला अनुवाद सङ्कलन, सन् २०२२) प्रकाशित भइसकेका छन्। विगत दुई दसकभन्दा बढी समयदेखि साहित्यलेखनमा होम्मिएका शर्माका देश-विदेशका विभिन्न पत्र-पत्रिकाहरूमा कविता अनि अनुवाद रचनाहरू (नेपाली अनि बङ्गला) नियमितरूपमा प्रकाशित हुने गर्छन्। उनका मौलिक कविताहरू बाङ्ला, हिन्दी, अङ्ग्रेजी अनि पञ्जाबी भाषाहरूमा अनुवाद भइ प्रकाशित भएका छन्। केही साहित्यिक पत्रिकाहरूका सम्पादन कार्यमा पनि उनी सङ्लग्न रहेका छन्। मदारीहाट, डुवर्स (भारत)-का स्थायी वासिन्दा उनी हाल उत्तर भारतको जालन्धर सहरमा एक बहुराष्ट्रिय संस्थामा कृषि-प्रबन्धकको रूपमा कार्यरत छन्।
यसलाई जीवित राख्नकोलागि तपाइँको
आर्थिक सहयोग महत्वपूर्ण हुन्छ ।