दिनेश घिमिरे

दिनेश घिमिरे

आफूलाई चिनाउने शब्दहरू बोकेर पुजारीहरू
मठ मन्दिरमा आफ्नै भोकहरू जगाइरहेछन्
भगवान् मलाई बचाउनु हरेक मेरा भोकहरूसँग
अतृप्त जीवन मोहको भोकमा पूर्ण हुन सकौँ
शब्दहरू बोकेर पुजारीहरू आफूलाई पुकार्दैछन्

आफूलाई चिनाउने भाकाहरू बोकेर पुजारीहरू
चोकचोकमा आफ्नै आवाजहरू बिकाइरहेछन्
भगवान् मलाई बचाउनु हरेक मेरा आवाजहरूमा
अतृप्त मेरा भोकहरूसँग म झुटको खेतीमा छु
भाकाहरू बोकेर पुजारीहरू आफूलाई पुकार्दैछन्

आफूलाई चिनाउने अनुहार बोकेर पुजारीहरू
देशविदेशमा आफ्नै अनुहार लिलामी गरिरहेछन्
भगवान् मलाई बचाउनु हरेक झुठा अनुहारसँग
अतृप्त मेरा भोकहरूसँग म मुखुन्डो खेतीमा छु
अलपत्र मेरा पहिचानमा म आज राजनीतिमा छु

आफूलाई चिनाउने भोकहरू बोकेर पुजारीहरू
आफ्नो आङ गनाउने गरी भस्मकुट भैसक्दा
विदेशी अन्तरमन्तर जप्दै मन्दिर धाई रहेछन्
भगवान् मलाई बचाउनु हरेक घात‑प्रतिघातमा
अतृप्त मेरा चाहनामा आजकल गोडमेलमा छु

आफूलाई जिताउने आकांक्षा बोकेका पुजारीहरू
आफ्ना अहंकारले आफ्नै आँखाहरू विक्षिप्त
रोदनले भरिएका स्वरहरूमा पुकारा गरिरहेछन्
चिताको चित्कारमा घुलित मौन आवाजहरूमा
भगवान् मलाई बचाउनु हरेक दूषित क्रियाहरूमा
अतृप्त मेरा आकांक्षा आज पूरा गर्ने कर्ममा छु।

 

विरूवा, भक्तपुर