साहित्यपोस्ट
नेपाली भाषा र साहित्यको सम्पूर्ण पत्रिका

केही बित्ता सपना

Chovar Blues Mobile Size
चन्द्र जिएम

म सोचिरहन्छु
कति लामो हुन्छ सपनाको बाटो
कति फराकिलो हुन्छ सपनाको आकाश
कति गहिरो हुन्छ सपनाको गहिराई
म केवल अनिदो आँखाले
सपनाकै मात्र सपना देखिरहन्छु

सरकार सपना देख् भन्छ
र, केही वर्ष बिराएर आउने चुनावमा
केही लामा सपना लिएर आउँछ
सपनाकै मतपत्रमा
लेप्चे लगाएर सरकारमा छिर्छ
र प्रत्येक वर्ष दोहोर्‍याउँदै तेहोर्‍याउँदै
सपनाकै ब्रिफकेसमा
सपनाकै बजेट भाषण सुनाउँछ ।

आज भोलि मलाई
सरकारको हरेक लामा सपना
जंगलमा स्याल कराएजस्तै लाग्छ
कहिलेकाहीँ त यस्तो पनि लाग्छ
मानौँ सरकार सर्प भएको छ
र, रुखको दोद्रोमा पसेर
सारीको बचेरा खाइरहेछ
र जनता केवल सारी भएर
बचेरा बचाउने सपना देखिरहेछन्
यस कारण पनि मलाई
सरकारको सपना, सपना जस्तै लाग्दैन
केवल कर्कस बकबास जस्तो लाग्छ

बरु यस्तो सपना, सपना जस्तो लाग्छ
जस्तो कि
स्कुलसम्म पुग्न
टुइनमा झुण्डिदै पाल्लो किनारा सम्म पुग्ने
साना नानी बाबुको आँखाको सपना
जस्तो कि
विष्टको ढोकाबाट
केही पाइलाभित्र छिर्ने एउटा दलितको सपना
जस्तो कि
सुनैसुनको मुर्ति भएको मन्दिर बाहिर
घाम र पानीलाई घर बनाएर ढुकिरहेको
एउटा अपाङ्गको २ रुपैयाँको सिक्का पाउने सपना
जस्तो कि
चौबाटोमा भारी कुरेर बसिरहेको
भरियाको भारी पाउने सबभन्दा ठूलो सपना
जस्तो कि
भर्खर शहर छिरेको एउटा गाउँलेको
सडक काटेर पाल्लो किनारासम्म पुग्ने सपना
जस्तो कि
जंगे पिलरजस्तै
युगौँदेखि सीमामा बसेको एक अनागरिकको
नागरिकता पाउने सपना
यी सबथोक मलाई साँच्चै सपनाजस्तै लाग्छ
किन कि
सबैभन्दा लामो लाग्छ मलाई
त्यो केही हातको तुइन र विद्यालय बीचको दुरी
सबैभन्दा लामो लाग्छ मलाई
त्यो विष्टको घरको एक हाते ढोका
सबैभन्दा गहिरो लाग्छ मलाई
त्यो सुनैसुनको मन्दिर
र, आँखा वा खुट्टा नभएको मान्छेको भोकको गहिराई
सबैभन्दा गहिरो लाग्छ मलाई
त्यो भारी बोकेको भोको भरियाको काँध
र, उसकै काँधमा झुण्डिएको मालिकको भारी बीचको गहिराई
यी सपना सबैभन्दा अग्ला लाग्छन् मलाई
यी सपना सबैभन्दा लामा लाग्छन् मलाई
यी सपना सबैभन्दा गहिरा लाग्छन् मलाई

सरकार लामो लामो आशाको सपना देख् भन्छ
म केवल छोटो सासको सपना-देख्छु
सरकार उधारो विश्वासको सपना देश- भन्छ
म हरेक छाक गास
र एकसरो कपासको सपना देख्छु
किनकि
आजतक कसैले नाप्न सकेको छैन
यी केही हात र केही बित्ताका सपना ।

 

प्रतिक्रिया
Loading...